काठमाण्डौँ, फागुन १२ (ई-रैवार)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । सरकारले विघटन गरेको प्रतिनिधि सभा सर्वोच्च अदालतले पुनर्स्थापना गरेपछि छलफल गर्न प्रचण्ड-नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो ।
सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले संसदीय दलको आज दिउँसो ४ बजेका लागि बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष तथा संसदीय दलको नेताबाट हटाउँदै नेकपाले यसअघि नै प्रचण्डलाई संसदीय दलको नेता चयन गरिसकेको छ ।
सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री ओलीले आफू पक्षका नेताहरुसँगको भेटघाटलाई तिब्रता दिएको छ । यसैबीच नेकपा प्रचण्ड नेपाल समूहले आजका लागि तय गरिएको विरोध सभालाई विजय उत्सवका रुपमा मनाउन निर्देशन दिएको छ ।
आज हुने भनिएको विरोधसभालाई सम्बोधन गर्न चितवन पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले कार्यकर्तालाई यस्तो निर्देशन दिनुभएको हो ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि प्रचण्ड–नेपाल समूहले सडक आन्दोलन गरिरहेको छ । हिजो साँझ कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले अव संसदमा रहेका दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन ।
जनतासँग वाचा गरे अनुरूप दलहरूसँग मिलेर संयुक्त सरकार बनाउने उनको भनाइ छ । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताको आधारमा राजीनामा दिन पनि सुझाव दिएका छन । प्रचण्डले ओली पक्षमा लागेका नेता कार्यकर्तालाई मूल पार्टीमा आउनसमेत आग्रह गरेका छन ।


