काठमाडौँ, फागुन २ (ई-रैवार)
नेकपा दाहाल–नेपाल समूहले चौथो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।
यसअघि काठमाडौंमा केन्द्रित आन्दोलनका कार्यक्रम गरेको दाहाल–नेपाल समूले चौथौं चरणका कार्यक्रम प्रदेश र जिल्ला स्तरीय केन्द्रित छन् । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म सम्बन्धित प्रदेश कमिटीको आयोजनामा जिल्लाहरुमा जिल्ला स्तरीय विरोध प्रदर्शन, फागुन ६ गते प्रतिगमन, महँगी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लोसहितको विरोध कार्यक्रम रहेको छ । फागुन ७ गते देशव्यापीरुपमा सबै पालिकाका वडा स्तरीय विरोध कार्यक्रम, फागुन ७ देखि १५ सम्म सार्वजनिक स्थलमा हस्ताक्षरको कार्यक्रम रहेको छ । यो समूहले फागुन ८ गते काठमाडौंमा बृहत् अन्तरक्रिया गर्ने भएको छ ।
फागुन ९ गते प्रतिगमन, महिला हिंसा, हत्या एवम् बलात्कारका विरुद्ध देशव्यापी महिलाहरुको विरोध, फागुन १० गते काठमाडौं उपत्यका र जिल्लाहरुमा दलित मोर्चाको तर्फबाट विरोध, फागुन ११ गते मधेशी, आदिवासी, जनजाति, महिला, मुस्लिम, थारु, पिछडिएको क्षेत्रलगायतका उत्पीडित समुदायको सांस्कृतिक पहिचानसहितको संयुक्त विरोध गर्ने भएको छ ।




