डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको अनुमति

डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको अनुमति
Spread the love

डडेल्धुरा, मंसिर ६ (ई–रैवार) 

डडेल्धुरामा स्वास्थ्यतर्फ डिप्लोमा तहको प्राविधिक कलेज सञ्चालनको तयारी थालिएको छ। स्वास्थ्य शिक्षा अन्र्तगत डिप्लोमा तहका सात वटा विषय अध्यापन गर्ने अनुमति पाएपछि अमरगढी नगरपालिका र डडेल्धुरा अस्पतालले सहकार्यमा सञ्चालन गर्ने तयारी थलिएको हो।

अमरगढी नगरपालिकाले स्वास्थ्यतर्फ डिप्लोमा तहका कार्यक्रमहरु सञ्चालनका लागि पठाएको प्रस्ताव सिटिइभिटीबाट स्वीकृत भइसकेको र यसै शैक्षिक सत्रबाट सात वटा विषय अध्यापन गर्ने गरी काम अगाडि बढाइएको शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका स्वकीय सचिव पंकज रावलले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा भएको एक विशेष बैठकमा बताए।

उनले भने, स्वास्थ्य शिक्ष तर्फ डिप्लोमा तहका स्टाफ नर्स, ल्याब टेक्निसियन, फार्मेसी, डेन्टल, हेल्थ असिस्टेन्ट, डाइग्नोसिस रेडियोलोजी, ओप्थाल्मिक असिस्टेन्ट अध्यापन यसै शैक्षिक सत्रबाट सुरु गर्ने गरी प्रक्रिया अगाडि बढेको जिल्लाका ७ वटै स्थानीय तहका प्रमुखहरुलाई जानकारी दिए।

शिक्षा तथा विज्ञान प्रविधिमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमको विशेष सहयोगमा सुदूरपश्चिम प्रदेशका कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका र डडेल्धुरामा अमरगढी नगरपालिकाबाट स्थानीय तहमार्फत स्वास्थ्यतर्फ डिप्लोमा तहका शैक्षिक कार्यक्रमहरु लगू गर्न थालिएको मन्त्रीका स्वकीय सचिव रावलले बताए।

सात वटा पहाडी जिल्लाको केन्द्र डडेल्धुरामा प्राविधिक कलेज स्थापना गर्न नसक्दा डडेल्धुरा लगायत सुदूरपश्चिमका पहाडी जिल्लाका कयौँ गरिब तथा जेहेन्दार विद्यार्थी प्राविधिक अध्ययनबाट बञ्चित भएका थिए भने कयौँ विद्यार्थीले महँगो शुल्क तिरेर अध्ययन गर्नुपर्ने बाध्यता रहेको थियो।

अमरगढी नगरपालिकाले सात वटा स्वास्थ्यतर्फका डिप्लोमा तहका कार्यक्रमहरु अध्यापन गराउन पाउने भएपछि डडेल्धुरा लगायत सुदूरपश्चिम प्रदेशका विद्यार्थीले सस्तो शुल्कमा प्राविधिक अध्ययन गर्न पाउने नगर प्रमुख विशेश्वर प्रसाद ओझाले बताए। उनले भने, ‘यस वर्ष स्वास्थ्य शिक्षातर्फका डिप्लोमा तहका सात वटा कार्यक्रम अध्यापन गर्न पाउने अनुमति पाएका छौं, अर्को वर्ष अन्य इन्जिनियरिङ तथा फोरेष्ट्री विषयको अनुमतिको लागि प्रयास गर्छौं।’

डडेल्धुरा अस्पताल डडेल्धुराको प्राविधिक सहयोगमा डिप्लोमा तहका विषयहरु अध्यापन गराउने गरी अमरगढी नगरपालिकाले स्वीकृति पाएको नगर प्रमुख ओझाले बताए। उनले थपे, ‘यसै शैक्षिक सत्रबाट अध्यापन गराउने गरी नीतिगत तथा अन्य निर्णयहरु भइरहेको छ। समयमै पूर्वाधार तयार गर्न सके यसै शैक्षिक सत्रबाट र नत्र आगामी शैक्षिक सत्रबाट अध्यापन सुरु गर्छौं । स्वास्थ्य खबरबाट