काठमाडौं, मंसिर ३ (ई–रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो मन्त्रिपरिषद् बैठक बोलाएका छन् । आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि सचिवालय बैठक सार्न दबाब दिएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोही समयमा मन्त्रिपरिषदको आकस्मिक बैठक डाकेका हुन ।
बैठक सार्न ओलीले दबाब दिँदा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका बहुमत सचिवालय सदस्यले अस्वीकार गरेपछि बैठक छल्न ओलीले आकस्मिक मन्त्रिपरिषद् डाकेको आकलन गरिएको छ ।
दिउँसो १ बजे नेकपा सचिवालय बैठक पनि बोलाइएको छ । सोही समयमै प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार आजको बैठक नियमित भनिए पनि अध्यादेशका सम्बन्धमा छलफल हुन सक्नेछ । कतिपय नेताहरुले दल विभाजन सम्बन्धी अध्यादेश फेरि पनि ल्याउन सक्ने आकलन गरेका छन् । तर यसको पुष्टि भने हुन सकेको छैन ।
विवाद चर्किदै जाँदा मंगलबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका ओलीले थप केही कदम पनि चाल्न सक्ने बुझिएको छ । पार्टी विवाद बढेको बेला ओलीले गत वैशाखमा राजनीतिक दल फुटाउने सम्बन्धी अध्यादेश ल्याएका थिए । पार्टीभित्र चर्को विवाद भएपछि राष्ट्रपतिले ती अध्यादेश फेरि खारेज गरेकी थिइन् ।
पार्टी विवाद उत्कर्षमा रहेका बेला सचिवालयकै समयमा आकस्मिक मन्त्रिपरिषद् बैठक डाकिएपछि अर्को पक्ष सशंकित भएको छ । तर, ओली अनुपस्थित भएपनि आज दिउँसो १ बजेको सचिवालय बैठक नरोकिने दाहाल-नेपाल अर्को पक्षले जनाएको छ ।
‘यसअघि सहमतिमा आह्वान भएको बैठक एक पक्षको निर्णयले मात्रै रोकिन्न, पार्टीलाई सधैँ अनिर्णयको बन्दी बनाउन सकिन्न’, दाहाल-नेपाल समूहका एक सचिवालय सदस्यले भने ।
पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् । नेकपा विवाद बढेपछि चिनियाँ पक्षले पनि त्यसको व्यवस्थापनमा फेरि सक्रियता बढाएको छ । चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नै दुई घण्टा ओलीलाई भेटेकी थिइन् ।
पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ । बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।


