डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण पुष्टि
Spread the love

डोटी, कार्तिक १६ (ई-रैवार)

डोटीको बाल सुधार गृहका २७ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ । जिल्ला अस्पताल डोटीको प्रयोगशालामा आइतबार भएको परीक्षणमा बाल सुधार गृहका २७ जनामा कोरोना संक्रमण देखिएको हो ।

बाल सुधार गृह प्रमुख सानुमाया लिम्बुका अनुसार संक्रमितहरुमा १ जना सुरक्षाकर्मी र २६ जना कैदीबन्दी बालबालिकाहरु रहेका छन् ।

बिहीबार बाल सुधार गृहमा रहेका ३७ जना बालक, २ जना कर्मचारी र १ सुरक्षाकर्मीको स्वाव संकलन गरिएको थियो । तीमध्ये २ जना कर्मचारी र ११ जना बालकको रिपोर्ट नेगेटिभ आएको बाल सुधार गृह प्रमुख  लिम्बुले बताइन । उनीहरुको अवस्था समान्य रहेको लिम्बुले बताइन ।

यसअघि कात्तिक ५ गते २ जना सुरक्षाकर्मीसहित ९ जनाको स्वाब परीक्षण भएकोमा ३ जना बालकमा संक्रमण देखिएको थियो ।

बाल सुधार गृहमा ४४ जना बालक रहेका छन् । जसमध्ये १८ जना कैद भुक्तान गरिरहेका छन् भने बाँकी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

यस्तै आइतबारको परीक्षणबाट जिल्लामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दिपायल सिलगढी नगरपालिका–४ का १ जना, वडा नं. ५ का १ जना, वडा नं. ६ का ७ जना र बोगटान फुडसिल गाउँपालिका–७ का १ जना रहेका छन् ।

सोमबार थपिएका ३५ जनासँगै डोटी जिल्लामा कोरोना संक्रमितहरुको संख्या १ हजार २ सय ८४ जना पुगेका छन् ।