आज विश्व हात धुने दिवस, तीनै तहका सरकारलाई समन्वयात्मक कार्य गर्न राष्ट्रपतिको आग्रह

आज विश्व हात धुने दिवस, तीनै तहका सरकारलाई समन्वयात्मक कार्य गर्न राष्ट्रपतिको आग्रह
Spread the love

काठमाडौं, असोज २९ (ई-रैवार)

आज विश्व हात धुने दिवस नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००८ अक्टोबर १५ देखि विश्व हात धुने दिवस मनाइँदै आएको हो ।

यस वर्ष ‘हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैं साथसाथ’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

आज राष्ट्रपति भण्डारीले ‘ शुभकामना सन्देश दिँदै कोभिड–१९ बाट आफू बच्न र अरुलाई पनि बचाउन हातको स्वच्छतासम्बन्धी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिक मार्गचित्र बनाई तीनै तहका सरकारले समन्वयात्मक कार्य गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसलाई निष्क्रिय बनाई संक्रमणमा कमी ल्याउने महत्वपूर्ण औजारमध्ये हातको स्वच्छता पनि एक भएको बताएकी छन् ।

साबुनपानीले २० सेकेण्डसम्म मिचिमिची हात धुँदा श्वासप्रश्वासजन्य एवं निमोनिया संक्रमण तथा झाडापखालामा कमी ल्याउन सकिने र इबोला, हेपाटाइटिस, सार्स जस्ता जीवाणुद्वारा लाग्ने रोगबाट पनि बच्न सकिने तथ्य अध्ययनले देखाएको राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख छ ।