सुदूरपश्चिम प्रदेशका थप दुई विमानस्थल सुचारु हुने

सुदूरपश्चिम प्रदेशका थप दुई विमानस्थल सुचारु हुने
Spread the love

मोहन जोशी

 धनगढी, असोज २५ (ई-रैवार)

लामो समयदेखि बन्द अवस्थामा रहेका सुदूरपश्चिम प्रदेशका दुई विमान स्थल पुनः सुचारु हुने भएका छन् ।

एकैदिन पिचको परीक्षण गरिएका बैतडीको पाटन विमान स्थल र बझाङको चैनपुर विमानस्थलमा असोज २७ र २९ गतेदेखि हवाई सेवा सुचारु हुने छ। दुई वटै विमान स्थलमा हवाई उडान गर्न समिट एयरले सम्झौता गरेको छ।

बैतडी जिल्लामा साताको १ दिन बिहीबार विमान सञ्चालन गरिने छ भने बझाङमा दुईदिन हवाई सेवा सुचारु गरिने समिट एयर पश्चिम क्षेत्रिय निर्देशक सरोज उप्रेतीले बताए ।

२०५२ सालदेखि उडान बन्द भएको बैतडीको पाटन एयरपोर्ट मा २५ वर्ष पछि पुनः हवाई सेवा सुचारु गर्ने गरी समिय एयरसँग सम्झौता भएको हो ।

पाटनका लागि धनगढीबाट उडान हुने छ। धनगढीबाट बिहान साढे ११ बजे पाटनका लागि उडान भर्ने बताइएको छ। १७ मिनेटमा धनगढीबाट बैतडी पुग्न सकिने बैतडीको भाडादर ३ हजार ८ सय २ कायम गरिएको छ ।

असोज १७ गते हवाई उडानका लागि पिचको परीक्षण गरिएकोमा परिक्षण सफल भएपछि नियमित उडान थाल्ने तयारी थालिएको हो। पाटनमा विमानस्थलमा ५ सय ९० मिटर लम्बाइ र २० मिटर चौडाइको धावन मार्ग कालोपत्रे गरिएको छ। ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो ।

२०३२ सालमा विमानस्थल निर्माणको काम सुरु भएर २०३५ सालदेखि हवाई सेवा सुरु भएको थियो ।

यसै गरी बझाङमा मंगलबारबाट नियमित हवाइ सेवा सञ्चालन हुने भएको छ। हप्ताको बिहिबार र शुक्रबार उडान हुने गरी अबदेखि समिट एयर सेवा दिने समिट एयर पश्चिम क्षेत्रिय निर्देशक उप्रेतीले बताए ।

५ हजार ५ हजार ४८ भाडादर कायम गरिएको बझाङमा हवाई माध्यामबाट पुग्न २५ मिनेट लाग्ने गर्दछ। बझाङ विमान स्थल २०५२ साददेखि सञ्चालनमा आएर २०६४ सालमा बन्द भएको थियो ।

आयोमेलबाट