एजेन्सी, असोज २० (ई-रैवार)
लागुऔषध मुद्दामा न्यायिक हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीको हिरासत म्याद पुनः एकपटक बढाइएको छ । मंगलबार अदालतले यसबारे फैसला सुनाउँदै उनीहरुलाई थप १४ दिन हिरासतमै राख्न आदेश दिएको हो ।
रिया र सोविकको न्यायिक हिरासतको म्याद ६ अक्टोबरमा सकिँदै छ । तर मंगलबार म्याद थप गर्दै २० अक्टोबरसम्मको लागि उनीहरुलाई हिरासतमै राख्न आदेश जारी गरेको हो ।
एनसीबीले मंगलबार पुन: एकपटक रिया र सोविकको जमानतको विपक्षमा बयान दिएको छ । तर रिया र सोविकका साथै हिरासतमा रहेका अन्य आरोपिहरुको जमानत याचिकामा बुधबार उच्च अदालतले आफ्नो सुनुवाइ गर्ने भएको छ ।
यदि बुधबार उच्च अदालतले रिया र सोविकको जमानत याचिका स्वीकारे गरेमा उनीहरु हिरासत मुक्त हुनेछन् ।
सुशान्तको मृत्यु प्रकरणमा लागुऔषधको मुद्दामा अनुसन्धान गरिरहेको एनसीबीले रियालाई ८ सेप्टेम्बरमा पक्राउ गरेको थियो । एकरात एनसीबीको हिरासतमा राखेर उनलाई ९ सेप्टेम्बरमा भायखला हिरासत पठाएको थियो । त्यहाँबाट उनीहरुलाई २२ सेप्टेम्बरमा न्यायिक हिरासतमा पठाइएको थियो ।
रिया र सोविकसँग थप सोधपुछ गर्न बाँकी रहेको भन्दै उनीहरुको जेल सजायको म्याद थपिएको हो । यसअघि पनि अदालतले अनुसन्धान बाँकी भएको भन्दै उनीहरुलाई हिरासत मुक्त गरेमा उनीहरुले प्रमाण नष्ट गर्नसक्ने भन्दै जमानत खारेज गरी हिरासत म्याद थप गरिएको थियो ।
रियालाई एनडीपीएस अधिनियमको धारा २७ ‘ए’ अन्तर्गत पक्राउ गरेको हो । जसअन्तर्गत १० वर्षको कैद सजाय रहेको छ । यहि कारण रियाको जमानतमा बारम्बार रोक लागेको हो ।


