विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी

विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने डब्लुएचओको चेतावनी
Spread the love

काठमाडौं, असोज १० (ई–रैवार)

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भ्याक्सिन आउने बेला अघिसम्म विश्वभर २० लाख मानिसको मृत्यु हुनसक्ने चेतावनी दिएको छ ।

डब्लुएचओका डाक्टर माइक रियानले अन्तर्राष्ट्रिय रुपमा प्रयास गरिएन भने मृत्यु हुनेको संख्या २० लाख भन्दा पनि बढी हुने चेतावनी दिएका छन् ।

विश्वभर अहिलेसम्म ९ लाख ९२ हजार भन्दा बढीको कोरोनाबाट मृत्यु भइसकेको छ भने ३ करोड २७ लाख भन्दा बढी संक्रमित भएका छन् ।

अहिलेसम्म विश्वभर २ करोड ४१ लाख ६० हजार संक्रमण मुक्त भएका छन् भने विश्वभर ७५ लाख सक्रिय संक्रमित रहेका छन् ।  जसमा ६३ हजारको आइसीयुमा उपचार भइरहेको छ ।

अहिले कोरोना भाइरसको संक्रमण कैयौं देशमा दोस्रो लहरको रुपमा देखा पर्न थालेपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।

डा. रियानले समग्रमा संक्रमण बढिरहेकोमा चिन्ता प्रकट गरेका छन् । उनले युरोपमा फेरी संक्रमण बढेको प्रति चिन्ता व्यक्त गर्दै युरोपियनहरुलाई कोरोना रोक्न गरेका प्रयासहरुको समिक्षा गर्न आग्रह गरेका छन् । उनले युरोपमा पर्याप्त लकडाउन, परिक्षण, क्वारेन्टाइन र सामाजिक दुरीको पालना भएको नभएको बारे युरोपियन सरकारहरुले समिक्षा गर्नुपर्ने बताएका छन् ।

सरकारहरु कोरोना रोक्न प्रयासत रहे पनि २० लाख मृत्युलाई अब नकार्न नसकिने बताए ।

युरोपमा दोस्रो चरणको संक्रमण शुरु भएको बताईरहदा अमेरिकामा भने पहिलो चरणको संक्रमण अझै नसकिएको बताइएको छ । वरिष्ठ डाक्टर एन्थोनी फाउचीले अमेरिकामा अझै संक्रमण कम नभएकोले पहिलो चरणकै संक्रमण जारी रहेको तर्क गरेका छन् ।