कञ्चनपुर, असोज ९ (ई–रैवार)
कञ्चनपुरको वसन्तपुरबाट काठ तस्करीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बेदकोट नगरपालिका–७ वसन्तपुरबाट प्रहरीले बिहीबार म १ च ३०१ नं को बलेरो जीपबाट काठ तस्करीमा संलग्न दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापका अनुसार जीपमा फल्स बटम बनाई (लुकाइछिपाइ) अवैध काठ तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जीपमा तस्करी भइरहेको काठसहित बिहीबार दुई जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापका अनुसार काठ तस्करीमा संलग्न बेदकोट नगरपालिका–५ का २५ वर्षीय घनश्याम पन्त र शुक्लाफाँटा नगरपालिका–८ बस्ने २२ वर्षीय मोहन बोहरा रहेका छन् ।
जीपमा लुकाइछिपाइ राखेको पाँच फिट एक इन्च लम्बाइ, तीन इन्च उचाइ, चार इन्च चौडाइ भएका सालका १५ थान चिरान गरिएको काठ बरामद गरिएको प्रहरी उपरीक्षक थापाले बताए ।
बरामद काठ, जीप र पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा बुझाइएको छ । काठ र जीप गरी जम्मा रु १२ लाख ३० हजार मूल्यको छ ।


