धनगढी, भदौ ३० (ई-रैवार)
सुदूरपश्चिम प्रदेशमा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा आज थप ५४ जनामा संक्रमण पुष्टि भएको हो।
सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका १३ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार गोदावरी नगरपालिकाका दुई महिला र सात पुरुष गरी ९ जना र धनगढी उपमहानगरपालिकाका तीन महिला र एक पुरुष गरी चार जनामा कोरोना पुष्टि भएको हो।
अस्पतालका सूचना अधिकारी श्रेष्ठले वडा नम्बर ५ का दुई महिला, वडा नम्बर ६ का एक महिला र वडा नम्बर ८ का एक पुरुषमा कोरोना पुष्टि भएको बताए। चार जना थपिएसँगै धनगढीमा संक्रमितको संख्या चार सय ४० पुगेको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ३४ जनाको कोरोना परीक्षण गरिएको छ ।
उता डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ६८ जनाको कोरोना परीक्षण भएकोमा थप १२ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज इश्वरी प्रशाद भूषालले दिएको जानकारी अनुसार बैतडीका ८, दार्चुलाका तीन र बझाङका एक जनामा संक्रमण पुष्टि भएको हो ।
बैतडीको दशरथचन्द नगरपालिका वडा नम्वर ७ का ६ जना, डिलासैनी गाउँपालिकाका दुई जना, दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई जना, महाकाली नगरपालिका वडा नम्वर ४ का एक जना र बझाङको दुर्गाथली गाउँपालिका वडा नम्वर २ का एक जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै डोटीका थप २९ जनामा कोरोना पुष्टि भएको छ। जिल्ला अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा थप २९ जनामा संक्रमण पुष्टि भएको हो। प्रयोगशालाका इन्चार्ज सौरभ श्रेष्ठले पछिल्लो २४ घण्टामा एक सय ४५ जनाको परीक्षण गर्दा २६ सुरुष र ३ महिलामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार डोटीको सुल्लेखका १९ जना, दिपायल सिलगढी नगरपालिकाका ९ जना र आर्दश गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको हो ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ हजार ५ सय ९० पुगेको छ। संक्रमण पुष्टि भएका पाँच हजार सात सयले कोरोना जितेका छन् भने १४ जनाको मृत्यु भएको छ ।


