बालबालिकाको हक, हित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा : प्रधानमन्त्री

बालबालिकाको हक, हित र संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा : प्रधानमन्त्री
Prime Minister KP Sharma Oli taking part in a video conference of SAARC leaders to contain the spread of the coronavirus, in Kathmandu, on Sunday. The conference was conducted at the initiative of the Indian PM. Photo: RSS
Spread the love

काठमाडौं, भदौ २९ (ई-रैवार)

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र  हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् ।

राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा  शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताएका छन् ।

‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानुनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई संरक्षण, सुरक्षा र अभिभावकत्व प्रदान गर्ने यस सरकारको प्रतिबद्धता छ’, प्रधानमन्त्रीद्वारा  जारी सन्देशमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले  बालबालिकाको शारीरिक र  मानसिक विकासका लागि सन्तुलित आहार, स्वच्छ उपयुक्त आवास, उपयुक्त प्रविधि प्रयोगसहितको स्तरीय शिक्षा, देशभक्ति, मानवता, सामाजिकता, उद्यमशीलता र रचनात्मकताको भावधारा जगाउने गुणवत्त शिक्षादीक्षाको अधिकार सुनिश्चित गर्ने सरकारको नीति रहेको प्रष्ट पारेका छन् ।

“बालबालिकाका लागि सुरम्य पारिवारिक–सामाजिक वातावरण निर्माण गर्न सङघीय सरकारको प्रयास मात्र पर्याप्त हुँदैन”, सन्देशमा भनिएको छ, “त्यसका लागि सबै तहका सरकार, राष्ट्रसेवक कर्मचारी, राजनीतिक दल, नागरिक समाज, विकासका साझेदार, निजी क्षेत्र तथा सञ्चारकर्मी सबैको रचनात्मक सहभागिता तथा सहयोगको अपेक्षा गर्दछु ।”

प्रधानमन्त्रीले सिर्जनाका आधारभूमि बालबालिकामा सकारात्मक, सबल र जीवनमुखी रङ भर्न  अभिभावक, परिवार र समाजलाई आफ्नो नैतिक आचरणमार्फत सकारात्मक ज्ञान सम्प्रषेण गर्न आह्वान गरेका छन् ।

रासस