कुलमानको कार्यकाल सकियो, पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्‍मा जाँदै

कुलमानको कार्यकाल सकियो, पुनर्नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्‍मा जाँदै
Spread the love

काठमाडौं, भदौ २९ (ई-रैवार)

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल आइतबार सकिएको छ। २०७३ सालको भदौ २९ गते नियुक्त भएका घिसिङको ४ वर्षे कार्यकाल आइतबार सकिएको हो  ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका अनुसार प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमानलाई फेरि नियुक्त गर्ने प्रस्ताव तयार भएको छ । उक्त प्रस्ताव आजै वा भोलि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी भइरहेको छ । ऊर्जमन्त्री वर्षमान पुनले उक्त प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको उनका प्रेस सल्लाहकार दयानिधी भट्टले जानकारी दिए ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालबीच विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई फेरि जिम्मेवारी दिने सहमति भइसकेको छ । मन्त्री पुनले सोहीबमोजिम चार वर्षका लागि घिसिङलाई नै कार्यकारी निर्देशक बनाउने प्रस्ताव तयार पारेका हुन् ।

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली, अध्यक्ष दाहाल र मन्त्री पुन निकटका स्रोतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई दोहोर्‍याइने बताएका छन् । प्रधानमन्त्रीका एक सल्लाहकारले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मन्त्री पुनले जसलाई अगाडि बढायो उसैलाई स्वीकार गर्ने र प्रधानमन्त्रीको तर्फबाट कुनै व्यक्ति नभएको बताएका छन् । कुलमानको सचिवालयका अनुसार आइतबार पनि उनले ऊर्जामन्त्री वर्षमान पुनलाई भेटेका छन् ।

यसबीचमा मन्त्रिपरिषद् बैठक भने बसेको छैन । पछिल्लोपटक भदौ १९ गते मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो । त्यसपछि भदौ २५ गते बोलाइएको बैठक २६ गतेका लागि सरेको थियो । २६ गते नेकपा स्थायी कमिटीको बैठकका कारण स्थगित भएको थियो ।

प्रधानमन्त्रीको व्यस्तताले पछिल्लो समय मन्त्रिपरिषद्को बैठक बस्न नसकेको बताइएको छ । सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकबाट कुलमानबारे निर्णय हुने ऊर्जा मन्त्रालयले जनाएको छ । त्यस्तै, सरकारको प्रवक्ता र वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गर्नेबारे पनि पनि बैठकले निर्णय गर्नसक्ने बताइएको छ ।

सरकारले २०७३ भदौ २९ गते ४ वर्षका लागि कार्यकारी निर्देशकमा  घिसिङ घिसिङलाई गरेको थियो । चार वर्षअघिको लक्ष्मी पूजाको दिनदेखि सर्वसाधारणको घरमा रहेको लोडसेडिङ र २०७५ साल बैशाखदेखि औद्योगिक क्षेत्रमा समेत लोडसेडिङ अन्त्य गरेर उनी लोकप्रियताको शिखर चढेका थिए ।