विकृतीविरुद्ध उत्रियो डोटी कांग्रेस

विकृतीविरुद्ध उत्रियो डोटी कांग्रेस
Spread the love

गणेश कठायत
दिपायल, भदौ १२ (ई–रैवार): नेपाली कांग्रेस डोटीले व्याप्त विकृती र विसंगतीविरुद्ध संघर्षको घोषणा गरेको छ । बुधबार साँझ दिपायलको पिपल्ला बजारमा कोणसभाको आयोजना गर्दै कांग्रेस डोटीका नेताहरुले अब पार्टी विकृतीविसंगतीका विरुद्ध उत्रिएको बताएका छन् ।
कोणसभामा सम्बोधन गर्दै अधिकांश नेताहरुले स्थानीयदेखी संघसम्मका सरकार भ्रष्टाचार, अनियमितता, स्वेच्छाचारिता, आडम्बरमा चुर्लुम्म डुबेको बताए । जसका विरुद्ध जनता जाग्नुपर्ने अवस्था सिर्जना भएको नेताहरुको तर्क थियो ।
‘हर काममा भ्रष्टाचार, हर योजनामा भ्रष्टाचार मौलाएको छ । राज्यस्रोतको चरम दुरुपयोग भईरहेको छ,’ कांग्रेस डोटी क्षेत्र नम्बर–१ का सभापति विजय खड्काले भने,‘एकवर्ष अगाडी सडकछाप जिन्दगी बिताईरहेकाहरुको हैसियत करोडौ नाघेको छ ।’ कम्यूनिष्ट पार्टीका कार्यकर्ताहरु जनताको नाकै अगाडी विकास बजेटको खुल्लम–खुल्ला भागबण्डा गरेर मोजमस्तीमा बिताईरहेको उनले टिप्पणी गरे । ‘मैले बिस लाख झ्वाम पारे, तैले कति पारिस् रु भनेर खुल्लमखुल्ला सोध्छन् । जनता ट्वाँ परेर हेर्नुपर्ने अवस्था छ,’ उनले थपे । यस्तो अवस्थामा कांग्रेस र जनता दुबै चुप बस्न नसकिने भन्दै उनले संघर्षमा उत्रनुको कुनै बिकल्प नरहेको बताए । उनले भने,‘अब संघर्ष मात्रै अन्तिम उपाय हो । यसकाविरुद्ध जनता र कांग्रेस जागरुक भएर उत्रनुपर्छ ।’
नेपाली कांग्रेस डोटीका सचिव नारायण जोशीले दुईतिहाईको सरकार केहीवर्ष नवित्दै घृणित बनेको तर्क गरे । ‘यो सरकार दिनप्रतिदिन घृणित बन्दै गइरहेको छ,’ उनले भने,‘हिजो विभिन्न बहानामा कांग्रेसको सरकारको विरोध गर्नेहरु आज विरोध नहुनुपर्ने काम नै गर्न सकिरहेका छैनन् ।’ सरकारको कार्यशैलीले जनताकाबीचमा व्यापकहरु प्रश्नहरु उब्जिएको उनले बताए । ‘ती प्रश्नहरुको उत्तर दिने नैतिक धरातल अहिले अब कम्यूनिष्टका कुनै सरकारहरुमा रहेन् । उनीहरुसंग रहेका कार्यकालका बाँकी दिन कटाउउनु सिवाय बिकल्प छैन्,’ उनले भने ।
अर्का नेता सुशिल घर्तीले दुईतिहाईको सरकार जनमतको भारले थिचिने दिन आईरहेको बताए । उनले भने,‘जनतामा कुनै आशा रहेन् । न जनताको ईच्छा अनुसारका नयाँ कामहरु भए । एकदिन यो सरकार पाएको जनमतको भारले थिचिने दिन आउदैछ ।’ अर्थतन्त्रको दुरुपयोग चुलिएको बताउदै उनले एकदिन सरकार आफ्नैविरुद्ध स्वेतपत्र जारी गर्ने दाबी गरे ।
दलित नेता लालबहादुर बिकले वर्तमान सरकारले संविधानले ज्ञारेन्टी गरेको समावेशी र समानुपातिक पद्धतीको उपहास गरेको बताए । ‘चुनाव लड्दा, जनमत बटुल्दा दलित, महिला, आदिवासी जनजाती, मधेसी, मुस्लीम, दुर्गम भन्ने कम्यूनिष्टहरुको चरित्र अहिले उदाङ्गो भएको छ,’ उनले भने,‘लोकसेवाको विज्ञापनमा सरकारले यसको हद पार गरेको छ ।’
महिला नेतृ पार्वती चन्दले लोकतन्त्र प्राप्तीपछिको अवस्थामा कम्यूनिष्टले फेरी लोकतन्त्र हरण गर्ने अवस्था देखिएको बताईन् । अर्का नेता बमबहादुर कठायतले अहिलेको अवस्थामा कांग्रेस एकिकृत र संगठित भएर जनताको बीचमा गई कम्यूनिष्ट सरकारका कर्तुतहरुबारे भण्डाफोर गर्नुपर्ने बताए ।
तरुण दल जिल्ला अध्यक्ष नारायण बलायरले कम्यूनिष्टका सरकारहरु बेथितिको सीमा नाघेर अघि बढेको बताए । नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष गणेश खड्काले सबै तहका सरकारका कामहरुको हिसाबकिताब राखेको र त्यसका विपक्षमा आवाज उठाउने समय आएको बताए ।
नेविसंघ पुर्वीचौकीका नेता रेशमविक्रम खड्काले देशको हुर्मत लिन तल्लीनहरुलाई जनताले नछाड्ने बताए ।
कांग्रेस डोटीले कोणसभाका कार्यक्रम लगायतका संघर्षका कार्यक्रमहरु नियमित गरेर जनताका पक्षमा आवाज उठाउने जनाएको छ ।