बेनी–नयाँदिल्ली बस सेवा सुरु

बेनी–नयाँदिल्ली बस सेवा सुरु
Spread the love

बागलुङ माघ म्याग्दीको बेनीबाट भारतको नयाँदिल्लीसम्म सिधा बस सेवा सुरु भएको छ। बेनी नगरपालिका–८, कालिपुल बसपार्कबाट हरेक दिन बस सेवा संचालन हुनेछ।

मोडर्न इरा टुर्स एन्ड ट्राभल्स र सृष्टि यातायात प्रालिले हरेक दिन विहान पौने ७ बजे बेनी कालिपुलबाट बस छुटाउनेछ। बस पोखरा हुँदै स्याङ्जा, वालिङ, भैरहवा, अयोध्या, आग्रा हुदै नयाँदिल्लीसम्म पुग्नेछ। सिधा बस सेवाले जिल्लाको धार्मिक तथा पर्यटन क्षेत्रलाई समेत टेवा पुर्याउने विश्वास गरिएको छ। मुक्तिनाथ दर्शन गर्न आउने भारतीय धार्मिक पर्यटकलाई समेत यसले सहजता दिलाउने व्यावासायी बताउँछन।

म्याग्दीको गलेश्वरधाम साथै मुस्ताङको मुक्तिनाथ मन्दिरको दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटकलाई यस सेवाबाट सहज हुने बेनी नगरपालिकाका मेयर सुरत केसीको भनाई छ। भारतका विभिन्न सहरमा रोजगारीका लागि आउजाउ गर्ने जिल्लाबासिका लागि यो सेवाले सहजता थप्ने बस कम्पनिको भनाई छ। बेनीबाट दिल्लीसम्मको प्रतियात्रु भाडा ५ हजार ४ सय रुपैयाँ भडादर तय गरिएको छ। त्यस्तै दिल्लीबाट फर्किदा केही सस्तो भाडादर तय गरिएको सृष्टि यातायात प्रालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए।

म्याग्दी, मुस्ताङको धार्मिकस्थललाई भारतसँग जोड्न र भारतीय पर्यटकलाई नेपाल भित्र्याउन यो सेवाले सघाउने व्यावसायी बताउँछन। बेनीका लागि भने दिल्लीस्थित सरोजनी नगरबाट हरेक दिन दिउँसो ४ बजे बस छुट्नेछ। बसमा यात्रा गर्ने क्रममा भारतका विभिन्न धार्मिक सहरको समेत अवलोकन गर्न सकिने पनि व्यावसायीले बताएका छन।

छिमेकी जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिरमा वार्षिक हजारौं भारतीय पर्यटक दर्शनका लागि आउने गरेका छन्। म्याग्दीबाट भारत जान यसअगाडी पोखराबाट बस सेवा प्रयोग गर्नुपर्ने बाध्यता थियो। म्याग्दीबाट करिब २७ घन्टामा दिल्ली पुग्न सकिने व्यावसायीको भनाई छ। बेनी–दिल्लीको दुरी १४ सय किलोमिटर छ।

म्याग्दीबाट रोजगार, शिक्षा, उपचार सहित अन्य विभिन्न कामले समेत भारत जाने यात्रुलाई भारतीय रेलवे सेवमा लाग्ने भन्दा निकै कम भाडादर लाग्ने तथा लुटपाटका घटनाको जोखिम समेत कम हुनेछ।