देशभर ७१ संचारकर्मी कोरोना संक्रमित, निःशुल्क पीसीआर परीक्षण गर्न महासंघको माग

देशभर ७१ संचारकर्मी कोरोना संक्रमित, निःशुल्क पीसीआर परीक्षण गर्न महासंघको माग
Spread the love

काठमाडौं, १२ भदौ  (ई-रैवार)

देशभर ७१ जना संचारकर्मीलाई कोरोना संक्रमण भएको छ । नेपाल पत्रकार महासंघका अनुसार देशभर ७१ जना संचारकर्मीलाई कोरोना संक्रमण भएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा दिनप्रतिदिन तीब्ररुपले बढिरहेको छ । पछिल्लो समय संक्रमणको दर वृद्धि भएसंगै यो महामारीबाट नेपाली सञ्चार क्षेत्र पनि नराम्ररी प्रभावित हुन पुगेको छ ।

नेपाल पत्रकार महासंघमा अभिलेख भएअनुसार उच्च जोखिमका बीच अग्रभागमा रहेर पेशागत कर्म निर्वाहका क्रममा अहिलेसम्म ७१ जना पत्रकार तथा सञ्चारकर्मी कोरोनाबाट संक्रमित भएका छन् । महासंघको अभिलेखअनुसार मलुकका ७ प्रदेशमध्ये ६ प्रदेशका पत्रकार तथा सञ्चारकर्मी संक्रमित हुन पुगेका छन् ।

नेपाल पत्रकार महासंघका अनुसार प्रदेश नम्बर १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएका छन् जसमा मोरङ जिल्लाका १२ जना र उदयपुरका १ जना रहेका छन् । प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएका छन् । जसमा पर्सा १३, बारा ४, धनुषा २, सप्तरी ३, सर्लाही ३, महोत्तरी १ र रौतहटमा १ जना रहेका छन् ।

त्यस्तै बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित हुन पुगेका छन् । जसमा काठमाडौं ९ र ललितपुरमा २ जना पत्रकार संक्रमित भएक छन् । गण्डकी प्रदेशमा ८ जना पत्रकार संक्रमति भएका छन् । जसमा कास्कीका १ जना र नवलपुरका ७ जना रहेका छन् ।

यसैगरी प्रदेश नम्बर ५ मा ११ जना पत्रकार संक्रमति भएका छन् । जसमा बाँके २, बर्दिया १, कपिलवस्तु ६ र रुपन्देहीमा २ संक्रमति हुन पुगेका छन् । कर्णाली प्रदेशको दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् ।

महासंघले उपचाररत सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय छ ।

नेपाल पत्रकार महासंघका महासचिब रमेश बिष्टल् विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका बताउका छन् । उनले महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

साथै, महामारीको यस्तो विषम परिस्थितिमा आफ्नो पेशागत धर्म निर्वाहका क्रममा संवेदनशील भई पूर्वसतर्कताका सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न महासंघले आम पत्रकार तथा सञ्चारकर्मीहरुमा अपिल गरेको छ ।