विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन

विधेयक संशोधनको माग गर्दै पत्रकार महासंघद्धारा सभामुखलाई ज्ञापन
Spread the love

 

धनगढी, साउन ३२ (ई-रैवार)

प्रदेश सभाबाट हालै पारित भएको एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधन गर्न माग गर्दै नेपाल पत्रकार महासंघले प्रदेश सभामा सभामुखलाई ज्ञापनपत्र बुझाएको छ । महासंघ सुदूरपश्चिम प्रदेश समितिले सभामुख अर्जुन बहादुर थापालाई आइतबार ज्ञापनपत्र बुझाएको हो ।

नेपाल महासंघले बिधेयकमा रहेका केही दफाहरुमा गम्भीर आपत्ति जनाएको छ । महासंघको सुदुरपश्चिम प्रदेश समितिका महासचिव योगेश रावलले स्रोतबाट आएको खबर पुष्टि गरेर मात्रै प्रशारण गर्ने भन्ने वाक्यांशले स्वतन्त्रतापूर्वक लेख्न पाउने अधिकारमाथि प्रश्न उठाएकोले सो दफानै हटाउन माग गरिएको बताएका छन ।

यस्तै मन्त्रालयले नियमावली बनाएर ऐनमा भएका केही बुँदा कार्यान्वयन गर्न खोजेकोले संघमा प्रेस काउन्सिल जस्तै अधिकार सम्पन्न स्वतन्त्र निकाय गठन हुनुपर्ने आफुहरुको माग रहेको महासचिव रावलले बताए ।

ज्ञापनपत्र बुझ्दै सभामुख थापाले पत्रकार महासंघले उठाएका बिषयबस्तु सही भएपनि विधेयक पारित हुनुपूर्व नै छलफल भएकेृ भए आफुले भूमिका खेल्न सक्ने अवस्था रहेको बताए । उनले विधेयक पारित भएसकेकोले अबको बाटो संशोधन मात्रै रहेको बताए । सभामुख थापाले भने–‘तपाईहरु निरन्तर लागि रहनुहोस, संशोधन गरेर भए पनि समस्या परेको ठाँउ सच्याउन सकिन्छ ।’

महासंघले सभामुख थापासंगै प्रदेश सभामा प्रमुख प्रतिपक्षी दलका नेता रण बहादुर रावल, सत्तापक्षीय प्रमुख सचेतक तारा लामा तामाङ र विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीलाई पनि ज्ञापनपत्र बुझाएको छ ।

सुदुरपश्चिम प्रदेशमा रहेका नेपाल पत्रकार महासंघ जिल्ला शाखाहरले पनि आजै जिल्ला प्रशासन मार्फत एफएम, रेडियोे तथा टेलिभिजन प्रशारण सम्बन्धी बिधेयक संशोधनको माग गर्दै सभामुखलाई ज्ञापनपत्र बुझाएका छन ।