जीवन बोहरा
बुडर साउन २५(ई-रैवार): भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै नेपाली कांग्रेसले जोरायल गाउँपालिकाको बुडरमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । जोरायल गाउँपालिका वडा नम्बर २ को नेपाली कांग्रेस इकाई समितिको अगुवाईमा सो कार्यक्रम आयाजना गरिएको हो ।
‘कम्युनिष्ट सरकार जनताका आवाज सुन्नुभन्दा, जनताका योजना निर्माण गर्नुको सट्टा भ्रष्टाचारमा लिप्त भयो,’ नेपाली कांग्रेस जोरायल गाउँपालिकाका उपसभापति रामदत्त भट्टराईले भने,‘त्यसैको सांकेतिक विरोध गर्न हामीले वृक्षारोपण कार्यक्रम ग–यौ ।’
बुडरको रामपुर माध्यामिक विद्यालयको परिसरमा वृक्षारोपन गरिएको हो । कांग्रेसमा विद्यालय परिसरबाहेक ईलाका प्रहरी कार्यालय बुडरको परिसरमा पनि वृक्षारोपण कार्यक्रम गर्ने योजना बनाएको थियो । तर, प्रहरी कार्यालयका ईन्चार्ज कर्णबहादुर रौलेले पार्टीगत रुपमा गरिने वृक्षारोपण प्रहरी परिसरमा गर्न नपाईने भन्दै अवरोध गरेका थिए । त्यसपछि नजिकैको मन्दिर परिसरमा पनि वृक्षारोपण गरिएको छ ।
प्रहरी कार्यालयजस्तो सरकारी कार्यालयको रित्तो परिसरमा वृक्षारोपण गर्न नदिईनु दुखद भएको स्थानीय कांग्रेस नेता एबं समाजसेवी कर्णबहादुर मल्लले बताए ।
जोरायल गाउँपालिका वडा नम्बर २ का वडा सभापति मुकुन्द पन्तले भ्रष्टाचारविरुद्ध कांग्रेसले जोरायल गाउँपालिकामा मोर्चाबन्दी गरेर जनतालाई जागरण अभियानमा समाहित गराउने बताए ।
वृक्षारोपणपछि सर्वहारा र श्रमजीवी भन्न रुचाउने कम्यूनिष्टहरु अहिले ठुला नवधनाढ्य र सामन्तमा परिणत भएको स्थानीय युवा नेता किरण मल्लले बताए । जसको भण्डाफोर अभियानमा अब कांग्रेस जुट्ने उनले बताए ।
नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य समेत रहेका रामलाल अर्गानिक फलफुल तथा तरकारी नर्शरी फार्मका सञ्चालक भक्तबहादुर थापाले वृक्षारोपण कार्यक्रममा विरुवा सहयोग गरेका थिए ।
वृक्षारोपणमा म्याको डोमिया नट, एभोकाडो, स्टोभरी र कागती र बदामका बिरुवा रोपिएका छन् ।
साथै क्वारेन्टाइनमा बसेका १२ जनालाइ पानी तथा फलफूल पनि हस्तान्तरण गरिएको छ ।
भ्रष्टाचारविरुद्ध खबरदारी जनाउदै कांग्रेसद्वारा बुडरमा वृक्षारोपण


