सभापति देउवाले महाधिवेशन प्रभावित पार्न खोज्दै छन् : वरिष्ठ नेता पौडेल

सभापति देउवाले महाधिवेशन प्रभावित पार्न खोज्दै छन् : वरिष्ठ नेता पौडेल
Spread the love

 

 काठमाडौं, साउन १५ (ई-रैवार)

नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाबाट महाधिवेशन प्रभावित पार्ने काम भइरहेको भन्दै आपत्ति जनाएको छ ।

‘महाधिवेशन मिति नजिकिँदै गर्दा सभापतिबाट यसलाई प्रभावित पार्न पार्टी विधानविपरीत विभिन्न विभाग गठन गर्ने काम भइरहेको छ। यसमा हाम्रो आपत्ति छ’, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने। उनले महाविधेशन आफ्नो पक्षमा पार्न सभापतिबाट अलमल्याउने काम भइरहेको भन्दै त्यसमा नलाग्न कार्यकर्ताहरूलाई अनुरोध गरे ।

पौडेलले सभापतिबाट पछिल्लोपटक जेष्ठ नागरिक समिति गठन गरेर धेरै साथीहरूको अवमूल्यन गर्ने काम भएको बताए । यस्तै २८ विभागलाई बढाएर ४८ बनाउने,  क्रियाशील सदस्यता वितरणमा मनपरी गर्ने र भ्रातृसंस्थाको अधिवेशन नगरेर पार्टीको विधान मिच्ने काम भएको पौडेलको आरोप छ ।

२०७२ मा सम्पन्न १३ औं महाधिवेशनमा पारित विधानमा पार्टीका निकायका गठन महाधिवेशन सकिएको २ महिनाभित्र गर्ने उल्लेख छ । यस्तै २०७५ सालमा सम्पन्न महासमिति बैठकबाट संशोधित विधानमा महाधिवेशन सकिएको ६ महिनाभित्र पार्टीको विभागलाई पूर्णता दिने उल्लेख छ।

पौडेलले भने, ‘२८ विभाग बढाएर जथाभाबी रूपमा ४७–४८ बनाएको विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं।’ पौडेलले क्रियाशील सदस्यता वितरण पारदर्शी रुपमा हुनुपर्नेमा जोड दिए । उनले भने, ‘पार्टी प्रवेशका नाममा व्यक्तिका नाममा यति हजार क्रियाशील सदस्य भनेर गलत काम गरिएको छ । जबरजस्ती रूपमा यति र उति सदस्य भन्नु गलत हो। क्रियाशील सदस्यता वडा तहबाटै आउनुपर्छ ।’

उनले भारत, बेलायत र अमेरिकास्थित जनसम्पर्क समितिमा सभापतिबाट जबरजस्ती मनोनयन गर्ने काम भएको आरोप लगाए । पौडेलले भने, ‘विधानको अक्षरसः पालना गर्नुपर्छ भन्ने हाम्रो माग छ। लटरपटर मानिस ल्याएर घुसाउन पाइँदैन ।’ पौडेलले भ्रातृ संस्थाको अधिवेशन गरेर मात्र महाधिवेशनमा प्रतिनिधित्व हुनुपर्ने बताए ।

सभापतिकै गतिविधिका कारण पार्टीभित्र केही आन्तरिक विवाद बढेको उनको भनाइ छ । उनले पार्टीभित्रका विवाद समाधान हुँदै जाने आश्वस्त पार्दै सम्पूर्ण कांग्रेसजनलाई महाधिवेशन निर्विघ्नता पूर्वक सम्पन्न गर्न र धाँधलीरहित बनाउन आग्रह गरे ।

पार्टी विभागको जथाभाबी गठन, विधान उल्लंघन, महाधिवेशन प्रभावित गर्ने गतिवधिप्रति वरिष्ठ नेता पौडेल सहितका नेताले बिहीबार सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएका छन् । पौडेलले भने, ‘सभापतिलाई पत्र लेखेर स्वच्छ निष्पक्ष र धाँधलीरहित बनाउन बिहान पत्र दियौं। तर सन्तोषजनक जबाफ पाउन सकेका छैनौं ।

सभापतिबाट मिलाएर गर्छु भन्ने तर स्पष्ट जबाफ नआउने पौडेलको भनाइ छ । उनले १४औं महाधिवेशनपछि कांग्रेसमा गुटबन्दी अन्त्य हुने बताए । पौडेले भने, ‘हामी महाधिवेशन तोकिएको मितिमा सम्पन्न गराउन कटिबद्ध छौं । सबै साथीहरु यसै अनुसार लागौं । अलमलिएर नबसौं।’