
सन् २०११ तिर ‘सार्वजनिक शिक्षा पाउनु सबैको विश्वव्यापी सामाजिक अधिकार हो’ भन्ने नारासाथ भएको चिलीको विद्यार्थी आन्दोलनले विश्वचर्चा कमायो । जुन आन्दोलन चिली विश्वविद्यालयको विद्यार्थी संघकी अध्यक्ष क्यामिला भालेजोको नेतृत्वमा भएको थियो । सन् १९९० पछि चिलियन शिक्षामा तीव्र निजीकरण हुँदै गएपछि करिब ५४ प्रतिशतभन्दा बढी विद्यार्थी निजी विद्यालयमा अध्ययन गर्न बाध्य थिए । जसका कारण चिलीमा शिक्षा महँगो हुँदै गयो ।
यसैगरी विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयमा सन् १९७४ मा विद्यार्थी युनियन स्थापना भयो । जसले प्रशासनिक निकायमा विद्यार्थीको प्रतिनिधित्व सुनिश्चित ग¥यो, राष्ट्रिय उच्च शिक्षानीति निर्माणमा विद्यार्थीका एजेन्डा राख्ने प्रतिनिधिको व्यवस्था ग¥यो । जहाँ प्रत्यक्ष रूपमा विद्यार्थीको सेवाप्रति समर्पित युनियन बनेको छ ।
अर्को विश्वप्रसिद्ध क्याम्ब्रिज विश्वविद्यालयमा १९७१ मा ‘क्याम्ब्रिज विद्यार्थी युनियन’ स्थापना भयो । जुन युनियनले विद्यार्थीका लागि सल्लाह, सुझाब, विद्यार्थीमैत्री, सूचना आदान–प्रदान र विद्यार्थीको दैनिक जीवनमा आइपर्ने समस्यामा सहयोग गर्दैआएको छ ।
यी र यस्तै तमाम विश्वका विश्वविद्यालयहरुमा स्ववियू(भलै नाम फरक–फरक होला) सक्रिय छन् । ति युनियनहरुले आफ्नो विश्वविद्यालयमा मात्र नभई समग्र मुलूकको शैक्षिक अवस्था सुधार र आमविद्यार्र्थीले भोग्दै आएका समस्याहरु समाधानमा बढी जोड दिएका छन् । मुलूकको शिक्षा सम्बन्धी नीतिगत व्यवस्था परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
नेपालमा पनि स्ववियू कार्यान्वयनमा आएको आधा शताब्दीबढी समय बितेको छ । त्रिभुवन विश्वविद्यालयमा २०२० सालमा स्ववियु स्थापना भएको थियो । २० भदौ ०२० मा त्रिविमा विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भएको थियो । तर, हालसम्म स्ववियूले उठाउदै आएका मुद्दाहरुमा शिक्षाका सवालहरुको उपस्थिती बलियो हुनसकेका छैनन् । पहिलो त नियमित स्ववियू निर्वाचन हुनै सकेको छैन् । त्यसपछि निर्वाचित हुने स्ववियू पदाधिकारीहरुले शैक्षिक मुद्दाहरुमा आफुलाई स्थापित गरेर सुधारको बाटो पहिल्याउने प्रयास गरेको पाईदैन् ।
यद्यपी राष्ट्रिय राजनीतिका सवालहरुमा भने नेपालको स्ववियू अभ्यास खरो रुपमा उभिएको ईतिहास जीवन्त छ । शुरुमा पञ्चायती व्यवस्थाका विरुद्ध उभिएका स्ववियू नेताहरु देशको गणतन्त्र स्थापनमा पनि जोडबलका साथ संघर्षमा उत्रिएको ईतिहास छ ।
ईतिहासका कालखण्डहरुमा राजनीतिक सवालमा स्थापित स्ववियुअघि अब शैक्षिक सवालहरु चुनौतीको पहाड बनेर उभिएका छन् । चिलीमा जस्तै शिक्षामा बढ्दै गएको नीजिकरण र माफियाकरण अबको समाजमा कम्ती दुखद् हुनेछैन् । यसबाहेक क्याम्पसभित्र मौलाउदै गएका गलत प्रबृत्तिहरु हटाउन पनि स्ववियूको मुख्य चुनौती छ । तर हालसम्मका स्ववियूका गतिबिधि हेर्दा ठेक्कापट्टा, नियुक्ति, नक्कली कार्ड, थेसिस बेचबिखन, प्रश्नपत्र खरिद–बिक्री, विद्यार्थी भर्नाको रकममा अनियमितता, प्रशासनसँग विभिन्न बहानामा पैसाको लेनदेन आदिमा स्वयम् स्ववियूका पदाधिकारी सामेल भएका तथ्यहरु पनि बाहिर आउने क्रम उस्तै छ । स्ववियूको नेतृत्व विद्यार्थी हकहित र शैक्षिक मुद्दाहरुमा सक्रिय हुनुपर्नेमा माफियाको जालसाजीमा सहभागि हुने अवस्था पनि देखिदै आएका छन् । जुन स्ववियूको भविष्यका लागि सुखद् संकेत होईनन् ।
यतिबेला फेरी देशभरका क्याम्पसहरुमा स्ववियू निर्वाचनको चर्चा छ । विद्यार्थी संगठनहरु खुलेर स्ववियूको तयारीमा जुटेका छन् । यद्यपी निर्वाचन हुने÷नहुने स्थिती अझै अनिश्चित छ । यस्तो अवस्थामा आमविद्यार्थीमाझ अवको स्ववियूका विषयमा व्यापक विचारविमर्श हुन जरुरी छ । आम विद्यार्थी साथीहरुले पनि सहि नेतृत्व र संगठनलाई निर्वाचित गरेर शैक्षिक क्षेत्रमा देखिएका बिकृती बिसंगतीविरुद्ध एक शंखघोष गर्नुपर्ने अवस्था छ ।
स्ववियू निर्वाचन हुने÷नहुने अझै अनिश्चित छ । तर सबैले बुझ्नपर्ने कुरा भनेको नियमित स्ववियू निर्वाचन हुन जरुरी छ । गतिशिल स्ववियूले शैक्षिक सवालहरुलाई उठान गर्न र विद्यार्थीहरुको अभिमतबाट नेतृत्वलाई जिम्मेवार बन्न अभिप्ररित गर्दछ । तर, राज्य यसमा जिम्मेवार हुनसकेको परिस्थिती छैन् । सरकारकै संरक्षणमा रहेका विद्यार्थी संगठन र शैक्षिक माफियाहरुले यसलाई बेलाबेला खलल पु¥याउदै आएका छन् । शैक्षिक सुधारका मुद्दाहरुलाई निस्तेज पार्ने रणनीति बुन्दै आएका छन् । जसले स्ववियूको गर्विलो ईतिहासमा कलंक लगाउने काम भईरहेको छ । राजनीतिक संघर्षमा आफ्नो अस्थित्व स्थापित गरेको स्ववियूलाई शैक्षिक संघर्षका बेला तहस–नहस बनाउने प्रपञ्च रचिदैछ । यसका मतियार स्वयम् विद्यार्थी संगठन हुने खतरा बढेको छ ।
तसर्थ आम विद्यार्थीमाँझमा अब एक बहस र अभियान शुरु हुन जरुरी छ । जसले एक आदर्श स्ववियूको परिकल्पना गर्दै देशमा व्यप्त शैक्षिक बेथितिविरुद्ध अभियान थालेर आदर्श काम गर्न सकोस् । देशमा गणतन्त्र स्थापित भईसकेको यो कालखण्डले यो अभियान मागेको छ । ईतिहासको यो कालखण्डमा उभिएर हामी शैक्षिक सुधारको एक विगुल फुँकौ, एक शैक्षिक आन्दोलनको थालनी गरौँ । देशमा मौलाउदै गएको शैक्षिक माफियाकरण र नीजिकरणबिरुद्ध धावा बोलौ । शिक्षालाई सस्तो, सर्भसुलभ र विपन्नमुखी बनाउन राज्यसंग संघर्ष गरौ । विश्वविद्यालय र क्याम्पसभित्र रहेका बिकृतीलाई सफाया गरौ । जसको नेतृत्व स्ववियूले गर्नसक्छ ।
यसका लागि पहिलो देशभरका क्याम्पसहरुमा जुझारुँ, संघर्षशिल र ईमान्दार स्ववियू नेतृत्व निर्वाचित गरौ । माउपार्टीका नेताहरुको पूर्ण ईशारामा चल्ने, माफियाको भाषा बोल्ने, शैक्षिक सुधारका सवालहरुलाई नजरअन्दाज गर्ने नेतृत्वलाई र संगठनलाई पराजित गरौ । सबै विद्यार्थी अट्ने, सबै समुदायका विद्यार्थी निर्वाध पढ्न पाउने, सबैको विचार अट्ने, सबैको प्रतिभाको सम्मान हुने एक आदर्श स्ववियू निर्माण गरौ । जसले शिक्षाक्षेत्रमा एक यूगिन आयामको सुत्रपात गरोस् ।
-शाह, नेविसंघ कैलालीकी नेतृ हुन् ।


