बर्खे बालीलाई मल अभाव नहुने सरकारको दाबी

बर्खे बालीलाई मल अभाव नहुने सरकारको दाबी
Spread the love

काठमाडौं जेठ । यस वर्षको बर्खे बालीका लागि किसानले रासायनिक मलको अभाव झेल्नु नपर्ने कृषि, वन तथा पर्यावरण मन्त्रालयले दाबी गरेको छ ।

सरकारी स्वामित्वका कम्पनीहरूसँग करिब १ लाख ४५ हजार मेट्रिक टन मल मौज्दात रहेकाले यसपालिको खेतीको सिजनमा मलको अभाव नहुने मन्त्रालयको दाबी छ ।मन्त्रालयको तथ्यांकअनुसार कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मल मौज्दात छ । कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा ६७ हजार ८३६ टन युरिया, २० हजार ९३ टन डीएपी र १४ हजार ३७४ टन पोटास गरी कुल १ लाख २ हजार ३०३ टन मल रहेको छ ।
यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेसनसँग १५ हजार ९८९ टन युरिया, २३ हजार ९५८ टन डीएपी र ३ हजार ३५९ टन पोटास गरी जम्मा ४२ हजार ४९९ टन मल मौज्दात छ ।गोदाममा रहेको बाहेक कृषि सामग्री कम्पनीले आयात गरेको थप ४५ हजार ८०५ मेट्रिक टन मल नेपाल भित्रिने क्रममा ९मार्गस्थ० छ । जसमा १७ हजार ३८८ टन युरिया र २८ हजार ४६६ टन डीएपी रहेको छ ।विगतका वर्षहरुमा करिब ४ लाख टनको हाराहारीमा मल आयात हुने गरेकोमा यस वर्ष हालसम्ममै साढे ५ लाख टन मल आयात भइसकेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार वर्षायाममा लगभग २ लाख ८५ हजार टन मलको माग हुने गरेको छ । हालको मौज्दात र आउने क्रममा रहेको मलले किसानको माग धान्न पर्याप्त हुने मन्त्रालयको भनाइ छ ।