काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा अोलीले पानी मुनी भएपनि गठबन्धनलाई ठेगान लगाउने चेतावनी दिएका छन् । एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका अोलीले चुनावमा जानैपर्ने परिस्थिति लोकतन्त्रमा हुने भएकाले गठबन्धन धेरै नटिक्ने बताएका हुन् ।
भक्तपुरको सूर्यविनायकमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले चुनाव जित्नका लागि सरकारमा जाने नभई जनताको काम गर्न जान चाहेको बताए । ओलीले गठबन्धनको आयु बढीमा एक वर्ष रहेको समेत बताएका छन ।
‘यो गठबन्धनलाई पानीमुनिबाट भएपनि ठेगान लगाइन्छ, लगाइन्छ,’ उनले भने, ‘बच्ला पानीमुनि गएपनि कहाँ यो स्वार्थी गठबन्धन ? यो कहाँ बच्छ ? बच्न सक्दैन । बढीमा एक वर्ष हो यसको आयु । संसारभरिका ज्योतिषिलाई सोध्यो भन्यो पनि त्यै भन्छन् बढीमा १ वर्ष हो यो सरकारको आयु ।’
रामलाई षड्यन्त्र गरेर १४ वर्ष वनवास पठाएको स्मरण गर्दै अोलीले भने– ‘नेपालमा यति धेरै मन्थरा र सकुनीहरु छन्, उनीहरुले हामी विरुद्ध षड्यन्त्र गरिरहेका छन्।’ गठबन्धनले जे काम गर्दा पनि झुक्याएर गरेको बताउँदै ओलीले संसदबाट नसकेर सर्वोच्चबाट सरकार बनाएको टिप्पणी गरे । उनले भने, ‘अब सर्वोच्च अदालतले होइन, जन अदालतले फैसला गर्छ त्यसको तयारी गर्नुस् ।’
अोलीले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागिता हुने बताए । उनले शिक्षक, कर्मचारीलाई निष्पक्ष भएर काम गर्न आग्रह गर्दै उनले नेकपा एमालेले प्रशासनको बलमा नभई जनताको मतले चुनाव जित्ने दाबी गरे । उनले भने, ‘प्रशासनसँग एउटै आग्रह छ, तपाईहरु निष्पक्ष रहनुस् ।’
उनले भने, ‘जनताले एमालेमाथि विश्वास गरेको छ, हामीले मतदाता किन्दैनौ, अनावश्यक खर्च गर्दैनौं ।’ मुलुकमा शान्तिसुरक्षा र विकासका लागि एमाले सरकार चाहिने ओलीको भनाइ थियो । अबको एक वर्षमा चुनाव आउनै पर्ने उनले बताए ।


