कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै, पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने तयारी

Spread the love

काठमाडौं :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बैठक बोलाइएको हो ।

भोलि सुरु हुने पार्टीको १४औँ महाधिवेशनको तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन् ।

शुक्रबारबाट सुरु हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठकसमेत हुने छ ।

पार्टी कार्यालयका मुख्य सचिव पौडेलकाअनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बोलाइएको छ ।

आज बस्ने बर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने नेताहरुले बताएका छन् । उपसभापति, सहमहामन्त्री र केन्द्रीय सदस्यको संख्या बढाउने तयारीमा पार्टी सभापति शेरबहादुर देउवा रहेको स्रोतले बताएको छ ।

सहमहामन्त्रीको संख्या चारदेखि पाँच जना बढाउने र उपभापतिको संख्या पनि थप गर्ने देउवा निकट स्रोतको दाबी छ । हाल कांग्रेसमा सहमहामन्त्री आठजना रहने व्यवस्था छ भने उपसभापति दुईजना रहने विधानमा उल्लेख छ ।

साढे चारलाख संगठित सदस्य हुँदा १६८ केन्द्रीय सदस्य रहेकोमा अहिले यो संख्या बढेर साढे आठ लाख नाघेकाले केन्द्रीय सदस्यको संख्या पनि बढाउनु पर्ने कांग्रेसमा माग उठ्दै आएको छ ।

यसअघिको केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य गोविन्द भट्टराईले पदाधिकारी र केन्द्रीय सदस्यको संख्या थप गर्न गरेको मागमा सभापति देउवाले आफू सकारात्मक रहेको बताएका थिए । यद्यपि, उनले प्रस्तावमा आफू बाधक नबन्ने तर रामचन्द्र पौडेल पक्षले स्वीकार गर्नेमा शंका व्यक्त गरेका थिए ।

कांग्रेसको १४औं महाधिवेशन शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा उदघाटन हुँदैछ । उदघाटनसत्रपछि सुरु हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने छ । सभापति र पदाधिकारी पदमा उम्मेदवार चयन गर्न कांग्रेसको संस्थापन र संस्थापनइतर पक्षले आन्तरिक छलफल तीव्र पारेका छन् ।