तराई-मधेसमा छठको रमझम

Spread the love

जनकपुरधाम, कात्तिक २४ (ई-रैवार) 

जनकपुरसहित देशका विभिन्न स्थानमा हर्सोल्लासपूर्वक सूर्यको पूजा आराधना गरी आज छठपर्व मनाइँदै छ। पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिइनेछ।

जनकपुरको पोखरी र जलाशयमा श्रद्धालुहरू मंगलबार रातिदेखि नै पूजा सामग्री लिएर घाटमा पुगेका छन्। तर ग्रामीण भेगमा भने आज दिउँसो र साँझ मात्रै पूजा सामग्री लिएर भक्तजनहरु घाटमा पुग्नेछन्।

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन ब्रतालुहरु नुहाएर अरबा अरबाईन भोजन गरेका थिए। दोस्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना मनाएका थिए।

तेस्रो दिन अर्थात् मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ दिएपछि छठ पर्वको विधिवत समापन हुन्छ।

छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लागयतको सामग्रीहरु चढाइन्छ। प्रसादको रुपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारको मिठाइ तथा फलफूल सूर्य देवता अर्थात् दिनानाथलाई चढाउने गरिन्छ।

अर्घ दिने ब्रतालु ४८ घन्टासम्म पानी पनि नखाइ उपबास बस्ने गर्दछन्। छठ पर्वमा सूर्य भगवान अर्थात् दिनानाथलाई अर्घ दिन तयार गरिने परिकारहरु अत्यन्तै नियम निष्ठापूर्वक गर्नुपर्ने भएकाले छठलाई निष्ठा र कठोर पर्वको रुपमा मानिन्छ।

पोखरी, तलाउ र नदीको घाटमा छठ गर्नेहरु अस्ताउँदो सूर्यलाई अर्घ दिन लगेको पूजा सामग्री सहित रातभर जग्राम बसेर श्रद्धाभक्ति पूर्वक पूजाअर्चना गरी भोली पल्ट विहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र पूजा सामग्री लिएर घर फर्कन्छन्।

ग्रामीण भेगका कतिपय ईनारमा घाट बनाएर छठपर्व गर्नेहरु साँझ पूजा सामग्री लगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि पुनः पूजा सामग्री घर ल्याउने गर्दछन्। र बिहान पख सूर्य उदाउनु केहिबेर पूर्व पूजा सामग्री घाटमा लगेर अर्घ दिने गर्दछन्। उदाउँसो सूर्यलाई अर्घको रुपमा चढाइएको पूजा सामग्री एवं प्रसाद छठ घाटमा समेत वितरण गर्ने प्रचलन छ भने घरमा लगेर प्रसादको रुपमा सबैले ग्रहण गर्दछन्।

छठ पर्व नहुनेहरुलाई छठ पर्व गर्नेहरुले निम्ता दिएर, बोलाएर खुवाउनुको साथै घरमा समेत पूर्याइदिने चलन छ। विभिन्न स्थानमा सांस्कृति कार्यक्रम पनि आयोजन हुने गर्दछ। छठ पर्वलाई समाजिक सद्भाव एवं एकताको पर्वको रुपमा पनि लिइन्छ। पहिले तराईका बासिन्दाले मात्र मनाउने छठ पर्व हिजोआज पहाडका बासिन्दाले समेत मनाउन थालेका छन्।