कार्यवाहक प्रधानमन्त्री खाणले गरे पशुपतिनाथको पूजाआजा

Spread the love

काठमाडौं, कात्तिक १३ (ई-रैवार) 

कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पशुपतिनाथको पूजाआजा गरेका छन् । कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका गृहमन्त्री खाँणले आज बिहान पशुपति मन्दिर गई आराध्यदेव भगवान् पशुपतिनाथको पूजाअर्चना गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा एक साताका लागि शुक्रबार बेलायत भ्रमणमा गएपछि खाणले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका छन् । उनले सर्वसाधारणकै बीचमा रही लाइनमा बसेर पशुपतिनाथको दर्शन गरेका हुन् । सो अवसरमा उनले पशुपतिनाथका पुजारीबाट अभिषेक ग्रहण गरेका थिए । पशुपतिनाथ दर्शन गर्ने क्रममा परिसरमा रहेका वासुकी, सत्यनारायण लगायतका मन्दिरको उनले दर्शन गरे ।

दर्शन गरी फर्कने क्रममा पशुपतिनाथ दर्शन गर्न लाइनमा बसेका सर्वसाधारणसँग भलाकुसारीसमेत गरी करिब डेढ घण्टा गृहमन्त्री खाँणले समय बिताएका थिए । दर्शन गरी मन्दिर परिसरबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा मुलुकको समृद्धि, नेपाली जनताको सुख र शान्ति सुव्यवस्थाका लागि कामना गरेको उनले बताए ।