वाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले पदबाट राजीनामा दिने

Spread the love

मकवानपुर, कार्तिक १० (ई-रैबार)

वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिने भएकी छन् । प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा मुख्यमन्त्री शाक्यले राजीनामाको तयारी गरेकी हुन् ।

प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जुनेलीमाया श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाक्यले राजीनामा दिने जानकारी दिएकी छन् । सदन अझै सुरु भएको छैन ।

‘गत कात्तिक ४ गतेको प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिन प्रस्ताव टेबुल गर्नुभएको छ । विश्वासको मत माग्ने क्रममा विपक्षी दलहरुले उठाएको प्रश्नको जवाफ दिएर उहाँले सदनबाटै राजीनामाको घोषणा गर्नुहुनेछ,’ राज्यमन्त्री श्रेष्ठले भनिन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभाको वैठकमा विश्वासको मत विभाजनका गर्न सबै तयारी पूरा गरिसकेको छ । मुख्यमन्त्री शाक्यले मन्त्री तथा सांसदहरुसँग मतविभाजनको प्रक्रियामा अगाडि बढ्ने वा राजीनामा दिएर मार्गप्रशस्त गर्ने विषयमा आन्तरिक छलफल गरेकी थिइन् । पूर्वमुख्यमन्त्री डोरमणि पौडेल निकट सांसदहरुले प्रक्रिया अगाडि बढ्नुपर्ने बताएपनि शाक्य निकट सांसदले राजीनामा दिन सुझाएका थिए ।

प्रदेशसभामा हाल सत्तापक्ष एमालेका ४३, प्रमुख प्रतिपक्षी नेकपा माओवादी २३ र अन्य प्रतिपक्षी नेपाली कांग्रेसका २२, नेकपा (एस)का १३, विवेकशील साझा दलका तीन, नेपाल किसान मजदुर पार्टी (नेमकिपा) का दुई, राप्रपाका दुई र जनता समाजवादी पार्टी (जसपा) का एक गरी १०९ सदस्य छन् ।

प्रदेशसभामा नयाँ सरकार बनाउन र टिकाउन ५५ मत भए पुग्छ । विपक्षी गठबन्धनसँग ५९ मत रहेको छ । ३ मत रहेको विवेकशील साझाले शाक्यलाई विश्वासको मत नदिने बताएको छ । दुई/दुई मत रहेको नेपाल मजदुर किसान पार्टी, राप्रपाले कुनै प्रतिक्रिया दिएका छैनन् ।

नेकपा (एस) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वाग्मती प्रदेशको तेस्रो मुख्यमन्त्री बन्ने पक्का भइसकेको छ । विपक्षी गठबन्धनको पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरिसकेको छ ।

वाग्मतीमा नेकपा (एस) र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भइसकेको छ । वाग्मती प्रदेशको सत्तारुढ नेकपा (एमाले) विभाजन भएर १३ सांसदले नवगठित नेकपा (एस) रोजेपछि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी थिइन् ।