डडेल्धुरा वडा अधिवेशन विवादमा देउवाले पौडेललाई ‘थुमथुम्याए’ !

Spread the love

काठमाडौं, असोज १ (ई-रैवार)

डडेल्धुरा विवादलाई लिएर शुक्रबार बसेको नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले राचन्द्र पौडेल पक्षलाई ‘थुम्थुम्याएर’ डडेल्धुराको वडा अधिवेशनलाई निरन्तरता दिने संकेत गरेका छन् । बैठकमा देउवाका तर्फबाट रमेश लेखकले करिब आधाघण्टा समय लिएर ब्रिफिङ गरेका थिए ।

उनले पौडेललाई सम्बोधन गर्दै ‘रामचन्द दाइ, डडेलधुराको सदस्यताका विषयमा हामीले अन्याय गरेका छैनौँ, विरोध नगरिदिनुहोस्’ भनेका थिए । लेखकको सम्बोधनपछि देउवाले कुनै जिल्लालाई प्रतिष्ठाको विषय नबनाउन भन्दै समयमा अधिवेशन गर्नेतर्फ लाग्न आग्रह गरेका थिए ।

“रमेश लेखकज्यूले धेरै लामो ब्रिफिङ गर्नुभयो । उहाँले डडेलधुरामा हामीले छानबिनका क्रममा अन्याय गरेका छैनौँ, सर्वसम्मतिमा निर्णय गरेका हौँ भन्नुभयो,” लेखकको भनाइ उद्धृत गर्दै पौडेल पक्षका एक नेताले भने, “रामचन्द्र दाइ, तपाईंहरू डडेल्धुराका विषयमा भावना नआइदिनुहोस् । अधिवेशनको वातावरण यसले बिगार्न सक्छ ।” त्यसो भन्दा पौडेल भने आक्रोशित हुँदै प्रश्न उठाएका थिए ।

“जिल्ला कार्यसमितिको सहभागिताविना अधिवेशन हुन्छ ? यो कहाँको न्याय हो ? को जिल्ला सभापति कोसँग निकट छ भनेर उसलाई प्रक्रियाबाटै बाहिर राख्न मिल्छ ?,” बैठकमा पौडेलले प्रश्न गरेका थिए ।

पौडेलले जिल्ला कार्यसमितिले भाग नलिएको अधिवेशनलाई कसको अधिवेशन गर्ने भन्दै प्रश्नसमेत उठाएको ती नेताको भनाइ छ ।

“बाँकी जिल्लामा पनि विवाद मिलेको छैन । आफूलाई अनुकूल हुने ठाउँको विवाद मिलाउँदै जाने प्रतिकूल हुने स्थानमा विवाद लम्ब्याउँदै जाने ?,” पौडेलले भनेका थिए, “तत्काल सबै जिल्लाको विवाद मिलाएर बाँकी जिल्लामा एकसाथ अधिवेशनको व्यवस्था मिलाइयोस् ।” पौडेलले त्यसो भन्नासाथ देउवाले ‘अब सबै मिलाएर जाने हो । पार्टीको आन्तरिक विषयमा धेरै वादविवाद नगरौँ मिलेर अगाडि बढौँ’ भन्दै पौडेललाई ‘थुम्थुम्याएका’ थिए ।

त्यसपछि कृष्णप्रसाद सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकको क्रियाशील सदस्यता विवाद समाधान समितिलाई एकदुई दिनभित्रै क्रियाशील विवाद टुंग्याएर अधिवेशनको वातावरण बनाउने निर्देशन दिएका छन् । सिटौला नेतृत्वको समितिको बैठक शनिबार दिउँसो १ बजेका लागि तोकिएको छ । बाह्रखरीबाट