काठमाडौं, भदौ २८ (ई-रैवार)
दशैं तिहारका लागि असोज ४ गतेदेखि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि लक्षित गर्दै बजारमा तीन अर्ब ६० करोड रुपैयाँ बराबरको सुकिला (नयाँ) नोट बजारमा पठाएको हो ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले ४ असोजदेखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी दिएका हुन ।
उनका अनुसार सर्वसाधारणले भने आगामी असोज चार गतेदेखि मात्र नयाँ नोट सटही गर्न पाउने छन् । नोट काठमाडौंमा नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यालयसहित सात वटै प्रदेशको प्रादेशिक कार्यालय र कमर्सियल बैंकका सबै शाखाहरूबाट उपलब्ध गराइनेछ ।
‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।
एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँसम्म सटही गर्न सक्ने
बैंकका अनुसार दशैं तिहार लक्षित सुकिला नोटका लागि एक व्यक्तिले १८ हजार ५०० रुपैयाँ सम्म सटही गर्न सक्ने सुविधा प्राप्त गर्नेछन् । रु.५,रु.१०,रु.२०,रु.५० र रु.१०० दरका एक एक गड्डीका दरले १८ हजार ५०० सम्म साट्न पाउने सुविधा बैंकले प्रदान गर्ने मुद्रा व्यवस्थापक प्रमुख नेपालले जानकारी दिए ।
हरेक वर्ष दशैंमा नयाँ नोट वितरण गर्दै आएको राष्ट्र बैंकले गत वर्ष कोरोनाका कारण राष्ट्र बैंकले नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण निकै घटेपछि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो ।
केही वर्ष पहिलेसम्म दशैंका लागि नयाँ नोट लिन राष्ट्र बैंकमा विहानको राति देखि नै सर्वसाधारणहरु लाइन लाग्ने गरेका थिए । तर बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले बताएको छ ।


