आज भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

Spread the love

काठमाडौँ, साउन १३ (ई–रैवार)

नेपालका धेरै भू-भागमा आज पानी परिरहेको छ । मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी तराई भू-भाग नजिक रहँदा नेपालका धेरै भू-भागमा पानी परिरहेको हो ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

भारी वर्षाको सम्भावना रहेका पहाडी भू-भूगमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।