काठमाण्डौँ, फागुन १४ (ईं-रैवार)
नेपालमा फेरि बर्ड फ्लू भेटिएको छ । काठमाडौंको तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्डफ्लु भेटिएको हो ।
तारकेश्वर नगरपालिका–१ साङ्लामा बर्डफ्लु भेटिएको स्थान र त्यस वरपरका कुखुरा, चल्ला र अण्डा र दाना नष्ट गरिएको पशुसेवा विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । संक्रमण विहीबार पुष्टि भएको र त्यस क्षेत्रका हजारौं कुखुरा नष्ट गरिएको उनको बताएका छन् ।
शुसेवा विभागका प्रवक्ता ढकालका अनुसार कमल गौतमले पालेका अण्डा नपार्ने लेयर्स कुखुरा २ हजार ९ सय ५५ वटा, अण्डा पार्ने लेयर्स २ हजार ७ सय २ वटा, अण्डा ३ हजार ५ सय ७० वटा र दाना १ हजार ४ सय ५० किलो नष्ट गरिएको छ ।
सरिता शाहले पालेका बोइलर कुखुरा २ हजार ९ सय ६० वटा, दाना ७ सय ५० किलो, सम्झना ठकुरी तिवारीले पालेका बोइलर कुखुरा २ हजार ७६ वटा, लोकल कुखुरा १ सय ७ वटा नष्ट गरिएको छ ।
यसैगरी अमृत थापाले पालेका २ हजार २ सय चल्ला र १५० किलो दाना तथा शान्ता खनालले पालेका लोकल कुखुरा एक सय वटा र टर्की दुई वटा पनि नष्ट गरिएको छ ।
तारकेश्वर नगरपालिकाका प्रवक्ता बिदुर सापकोटाले साङ्लास्थित छाप भन्ने ठाउँका पाँच वटा व्यवसायीक फर्ममा बर्डफ्लु देखिएको बताए । तारकेश्वर नगरपालिका–१ मै यसअघि बर्डफ्लु पुष्टि भएपछि १४ सयभन्दा धेरै हाँस मारिएको थियो ।
यसअघि हाँसमा मात्रै देखिएको बर्डफ्लु अहिले कुखुरामा पनि पुष्टि भएको जानकारी आफूले पाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरेले बताए ।


