काठमाडौं, कार्तिक १६ (ई-रैवार)
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर संकट देखिएको छ । चुनावी गठबन्धन हुँदै तत्कालीन एमाले र माओवादी मिलेर बनेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र गम्भीर संकट देखिएको हो ।
यस्तो अवस्थामा शनिबार भएको पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल प्रचण्ड र केपी शर्मा ओलीबीचको छलफलमा ओलीले पार्टी फुटाएर अलग हुने प्रस्ताव गरेको बताएका छन् ।
आइतबार बिहान ११ बजे पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापासहितको बैठक बसेको थियो । नेताहरूसँग कुराकानी गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले शनिबारको भेटघाटमा सो प्रस्ताव गरेको ब्रिफ्रिङ गरेका हुन् ।
‘प्रधानमन्त्रीज्यूले सँगै जान सकिएन, अब अलग-अलग लागौं भनेर प्रचण्डजीसँग प्रस्ताव गर्नुभएछ,” प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “प्रधानमन्त्री स्वयंले उक्त प्रस्ताव गरेपछि पार्टी एकता कायम गर्न लागि परेका छौं ।” उनका अनुसार शनिबार र आइतबारको छलफलमा प्रधानमन्त्री ओलीले प्रचण्डसँग उक्त प्रस्ताव गरेका थिए ।
बैठकमा सहभागी नेताहरूले पार्टी फुटाउनुहुँदैन भनेर जोड दिएको ती नेताको भनाइ छ । पार्टीको निर्णय सबैले मान्नुपर्ने र पार्टी एकता बचाउनुपर्ने दायित्व सबैले लिनुपर्ने धारणा राखेको सचिवालय सदस्य बताउँछन् । “पार्टीका निर्णय कार्यान्वयन गरेर जानुपर्छ । सरकार र पार्टीलाई विचार, विधि र नीतिकै आधारमा चलाउनुपर्छ ।
पार्टी कमिटीले गरेको निर्णय सबैले मान्नुपर्छ । यो दुईवर्ष जनमुखी काम गर्ने, सामाजिक, आर्थिक रूपान्तरणको काम गर्ने र यही बीचमा महाधिवेशनको तयारीमा पनि लाग्ने भन्ने नै निष्कर्ष हो,” एक सचिवालय सदस्य भन्छन् ।
खुमलटारमा आफू निकट नेताहरुलाई बोलाएर प्रधानमन्त्रीले गरेको प्रस्तावका बारेमा छलफल गरेको र पार्टी एकता कायम गराउनका लागि तीव्रताका साथ छलफल भईरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


