कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै : काे-काे बन्दैछन् मन्त्री ?

कर्णाली प्रदेशमा मन्त्रिमण्डल हेरफेर हुँदै : काे-काे बन्दैछन् मन्त्री ?
Spread the love

काठमाडौं, कार्तिक १६ (ई-रैवार)

केही दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरूद्दकाे अविश्वासकाे प्रस्तावले त्यहाँकाे मन्त्रिमण्डलमा उतार चढाव आएकाे थियाे। साेही उतार चढावका कारण मुख्यमन्त्री शाहीले आज मन्त्रिमण्डल हेरफेर गर्दैछन् ।

केपी शर्मा ओली पक्षका दुई मन्त्रीलाई हटाएर माधव नेपाल समूहकालाई मन्त्री बनाउने तयारी छ । स्रोतका अनुसार ओली पक्षका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई हटाइने छ ।

स्रोतका अनुसार नयाँ बन्ने मन्त्रीहरुमा चन्द्रबहादुर शाही, करबिर शाही र अमरबहादुर थापा छन् । कसलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने खुलेको छैन । मुख्यमन्त्री शाहीले हटाउने पूर्वसूचना पाएपछि सामाजिक विकास मन्त्री दल रावलले अघोषित रुपमा पद त्यागेको जानकारी सामाजिक सन्जालमार्फत् दिएका छन् ।

ओली पक्षले आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि मुख्यमन्त्री शाहीले यसअघि प्रमुख सचेतक गुलाबजंग शाहलाई पनि हटाएका थिए । यो प्रकरणमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पक्ष एक ठाउँमा आएपछि कर्णाली प्रदेशमा ओली पक्ष अल्पमतमा परेको छ ।

त्यस्तै बैंकिङ कसुरमा परेपछि खड्कबहादुर खत्रीलाई हटाएपछि रिक्त भएको भौतिक पूर्वाधार विकास मन्त्री पनि आजै नियुक्त गर्ने मुख्यमन्त्री शाहीको तयारी छ । खत्री पनि ओली पक्षबाटै मन्त्री बनेका थिए ।

यसैबीच मुख्यमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गर्न लागेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका दुईजना मन्त्रीले राजीनामा दिने तयारी गरेका छन् । सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा बाहिरिने तयारी गरेको स्रोतको दाबी छ ।

सामाजिक विकासमन्त्री रावलले त फेसबुकमा सबैलाई धन्यवाद नै दिइसकेका छन् । “कर्णाली प्रदेश सरकारको सामाजिक विकासमन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्‍याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समादरणीय महानुभावहरूप्रति ऋणी छु,” उनले फेसबुकमा लेखेका छन् ।