उच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण, निश्चित कामकारवाही बाहेक अन्य काम स्थगित

उच्च अदालतका न्यायाधीशलाई कोरोना संक्रमण, निश्चित कामकारवाही बाहेक अन्य काम स्थगित
Spread the love

 

धनुषा, साउन १६ (ई-रैवार)

उच्च अदालत जनकपुरधामका एक न्यायाधीशलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

५० वर्षीय न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भएको उच्च अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामध्ये एक जनाको पोजेटिभ देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाही बाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।