काठमाडौँ, साउन २० (ई-रैवार)
सत्तारूढ गठबन्धनले एमालेको माधव नेपाल समूहलाई अझै आगामी शुक्रबारसम्म कुर्ने भएको छ । मन्त्रिपरिषद् विस्तारका लागि नेता नेपाल सरकारमा आउने/नआउने सुनिश्चित गर्न शुक्रबारसम्म कुर्ने तयारी गरेको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठनमा निर्णायक भूमिका निर्वाह गरेका नेता नेपाललाई सकेसम्म सरकारमा ल्याउने सत्ता गठबन्धनका नेताहरूको जोड छ ।
“माधवकुमार नेपालले केही दिन कुरौँ भन्नुभएको रहेछ । प्रचण्डले पनि यतिका दिन ढिला भइसक्यो केही दिन कुरौँ भन्नुभएको छ,” देउवा निकटका एक कांग्रेस नेताले भने, “प्रधानमन्त्रीज्यूले शुक्रबारसम्म कुर्ने भन्नुभएको छ ।”
देउवाले सकेसम्म नेता नेपाल समूहसहित नभए अन्य दललाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेको ती नेताले बताए । उनका अनुसार प्रधानमन्त्री देउवाले माधव नेपाल र प्रचण्डसँगको कुराकानीपछि यस्तो तयारी गरेका हुन् ।
एमालेको नेपाल समूहले बिहीबार केन्द्रीय कमिटीको बैठक डाकेको छ । नेपाल समूहले केन्द्रीय समिति बैठकबाट औपचारिक निर्णय गरेपछि देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका हुन् ।
प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएका नेपाल समूहका नेताहरू सरकारमा जानु नहुने पक्षमा छन् । उनीहरूले पार्टी एकता गरेर जानुपर्नेमा जोड दिइरहेका छन् । तर, तेस्रो तहका नेता तथा सांसदहरू भने सरकारमा सहभागी हुनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।
यही द्वन्द्वकाबीच औपचारिक निर्णय गर्न नेपाल समूहले केन्द्रीय कमिटी बैठक डाकेको हो । नेपाल समूहको केन्द्रीय कमिटी बैठक बिहीबार बिहान ११ बजे बुद्धनगरस्थित एक पार्टी प्यालेसमा डाकिएको छ ।
नेता नेपाल समूह सरकारमा सहभागी भए नेपाल समूह र माओवादी केन्द्रलाई बराबरी ६/६ मन्त्रालय बाँड्ने तयारी भएको छ । जसपालाई ४ तथा कांग्रेसलाई ८ मन्त्रालय पर्ने देखिएको छ । बाह्रखरीबाट


