ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षसँग वारपारको तयारी

ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षसँग वारपारको तयारी
Spread the love

काठमाडौँ, साउन १६ (ई-रैवार)

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ । एमालेले तुलसीलाल स्मृति भवन च्यासलमा आज दिउँसो ३ बजे बैठक बोलाइएको हो ।

एमालेका कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार आजको बैठकमा तीन वटा एजेन्डामाथि छलफल हुने बताइएको छ । पार्टी कार्यालयका सचिव तामाङका अनुसार केन्द्रीय विभागहरुको पूर्णता, विधान महाधिवेशनको तयारी, पार्टी सदस्यता नवीकरण र बितरणबारे बैठकमा छलफल हुनेछ ।

शनिबारको बैठकमा नेपाल पक्षको सहभागिताका लागि ओली पक्षीय नेताहरुले नेपालसँग भेटवार्ता गरेका थिए । एमालेले शनिबारका लागि बोलाएको स्थायी कमिटी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ ।

बैठकमा उपस्थित हुन नेता नेपालपक्षलाई पनि खबर गरिएको छ । नेता गोकर्ण विष्टले यही अवस्थामा बैठकमा सहभागी नहुने बताएका छन् । ‘यही अवस्थामा बैठकमा सहभागी हुन्नौं होला, सहमतिको प्रयास जारी छ’ नेता विष्टले भने ।

एमाले महासचिव ईश्वर पोखरेलले पार्टीभित्रको विवाद अब लामो समय नतन्किने बताएका छन् । पार्टी कार्यालयमा हिजो (शुक्रबार) आयोजित कार्यक्रममा उनले केही दिनभित्रै यसबारे अन्तिम टुंगो लाग्ने बताए । उनले शनिबार बस्ने स्थायी कमिटी बैठकबाट यसबारे टुंगो लगाउने बताए ।

‘अब धेरै प्रतीक्षा गर्नु उचित हुँदैन भन्ने मेरो बुझाइ छ,’ महासचिव पोखरेलले ओली-नेपाल समूहबीचको एकता प्रसंगबारे भने, ‘भोलि (शनिबार) बस्ने स्थायी कमिटीको बैठकबाट वारपार हुन्छ ।’ उनले एक छुट्टै प्रसंगमा नेता माधवकुमार नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउने प्रस्ताव स्वीकार्य नहुने बताएका थिए ।

नेकपा (एमाले) मा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपाल समूहबीच चलेको विवादले पार्टी एकीकृत नै रहने कि विभाजित भएर जाने भन्ने बहस सिर्जना गरिरहेको छ ।

अध्यक्ष ओलीले एकताको प्रयासमा रहेका आफू पक्षीय नेताहरुलाई शनिबारसम्म वारपार गर्ने निर्देशन दिएका थिए । सोही एमाले नेता सुवास नेम्वाङ, उपमहासचिव विष्णु पौडेलले नेता नेपालसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।