धनगढी-दिपायल नियमित हवाई सेवा सुरु, हरेक मंगलबार बैतडीबाट पनि नियमित हवाई सेवा हुने

धनगढी-दिपायल नियमित हवाई सेवा सुरु, हरेक मंगलबार बैतडीबाट पनि नियमित हवाई सेवा हुने
Spread the love

धनगढी, असोज ३० (ई-रैवार)

डोटीको दिपायलदेखी नियमित हवाई सेवा आजबाट सुरु भएको छ । धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाका अनुसार धनगढी-दिपायल नियमित समिट एयरको जहाजले आज बिहान सिट क्षमता अनुसार हवाई सेवा आज देखि सुरु भएको हो ।

धनगढी विमानस्थल कार्यालयका प्रमुख बुढथापाका अनुसार विहान धनगढीबाट १६ जना यात्रु लिएर गएको जहाज दिपायलबाट १३ जना यात्रुहरु ल्याएर आएको छ । दिपायल विमानस्थलमा यात्रुहरु छिटो नपुगेका कारण कतिपय यात्रुहरु छुटेको उनले बताए । धनगढी दिपायल हवाई सेवाको भाडदर ३ हजार २ सय कायम गरिएको छ ।

प्रमुख बुढथापाका अनुसार दिपायलबाट धनगढीका लागि प्रत्येक शुक्रबार उडान भर्ने कार्यतालिका तयार भएको छ । निजी क्षेत्रको विमान कम्पनी समिट एयरले उडान भर्ने तयारी गरेको हो ।

जहाज सञ्चालनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । विमानस्थलमा भएका सञ्चार उपकरणको पनि मर्मतकार्य भइरहेको छ । कूल १८ जना सिट क्षमता भएको उक्त जहाज धनगढीबाट दिपायलका लागि बिहान १०ः३० बजे र दिपायलबाट धनगढिका लागि बिहान ११ः३० बजे उडान भर्ने तालिका तयार भएको बताइएको छ ।

यस्तै धनगढी-बैतडी पनि आजबाट नियमित हवाई सेवा सुरु भएको धनगढी विमानस्थल कार्यालयका प्रमुख बुढथापाले जानकारी दिए । समिट एयरले हप्ताको एकदिन उडान भर्नेगरी नियमित रुपमा धनगढी–बैतडी–धनगढी सेवा दिने भएको छ। उनले भने, ‘पहिलो दिन धनगढीबाट १८ यात्रु बैतडी र बैतडीबाट ७ यात्रु लिएर धनगढी फर्केको छ।’

पहिलो दिन शुक्रबार हवाई उडान गरिएको भएपनि अबदेखि बैतडीमा हप्तामा एक दिन मंगलबार नियमित उडान हुने समिट एयरका सुदूरपश्चिम म्यानेजर सरोज उप्रेतीले जानकारी दिए।  धनगढीबाट हरेक मंगलबार बिहान १० बजे बैतडीका लागि विमान उड्ने उनले बताए।

धनगढीबाट बैतडीको भाडा ३ हजार ८ सय रुपैंया तोकिएको छ। नियमित हवाई उडान भएपनि पाटन विमानस्थलमा टर्मिनल भवन तथा टावर नहुँदा समस्या हुने देखिएको छ। तत्कालका लागि पाटन नगरपालिकासंग समन्वय गरेर एकजना सम्पर्क व्यक्ती राखेर काम गरिएको जनाइएको छ। अर्को हप्तादेखि आफ्नै जनशक्ति राखेर काम गरिने समिट एयरका सुदूरपश्चिम म्यानेजर उप्रेतीले बताए ।