सरकारी कर्मचारीले गाडी किन्न ६० लाखसम्म ऋण पाउने

सरकारी कर्मचारीले गाडी किन्न ६० लाखसम्म ऋण पाउने
Spread the love

काठमाडौं कात्तिक। सरकारले सरकारी कर्मचारीलाई नयाँ गाडी खरिदका लागि ६० लाख रुपैयाँसम्म सहुलियतपूर्ण ऋण दिने तयारी गरेको छ ।

‘सरकारी कर्मचारीहरूका लागि सवारी साधन व्यवस्थापनसम्बन्धी निर्देशिका २०८३’ तयार पार्दै सरकारले सरकारी गाडीको दोहोरो प्रयोग र सञ्चालन खर्च घटाउन यस्तो नीति ल्याउन लागेको हो ।

प्रस्तावित निर्देशिकाअनुसार मुख्यसचिव, सचिव तथा १२औँ तहका कर्मचारीले चारपाङ्ग्रे गाडी खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण पाउनेछन् । यस्तै सहसचिवले ५० लाख र उपसचिवले ४० लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गरिएको छ । शाखा अधिकृतले दुईपाङ्ग्रे गाडी खरिद गर्न चार लाख र सहायकस्तरका कर्मचारीले दुई लाख रुपैयाँसम्म ऋण सुविधा पाउनेछन् ।

ऋणको सम्पूर्ण ब्याज सरकारले व्यहोर्नेछ भने साँवा रकम सम्बन्धित कर्मचारीले किस्ताबन्दीमा भुक्तानी गर्नुपर्नेछ । यसका साथै कर्मचारीहरूलाई पदअनुसार वार्षिक २५ हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म इन्धन र १० हजारदेखि एक लाख रुपैयाँसम्म मर्मत खर्चसमेत उपलब्ध गराउने सरकारको तयारी छ ।

आफैँ गाडी चलाउने उच्च अधिकारीले चालकको शुरू तलबमान बराबरको रकम पाउनेछन् । व्यक्तिगत गाडी खरिद नगर्ने कर्मचारीका लागि कार्यालयमा साझा गाडीको व्यवस्था गरिनेछ ।

प्रमुख जिल्ला अधिकारी र प्रमुख प्रशासकीय अधिकृतले भने सरकारी गाडी नै पाउनेछन् । यो निर्देशिका सङ्घीय निजामती, स्वास्थ्य र संसद् सेवाका स्थायी कर्मचारीमा लागू हुनेछ ।