काठमाडौं फागुन । सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को माघ महिनासम्ममा कुल ६ खर्ब ६४ अर्ब २ करोड ५१ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार माघ २९ गतेसम्म सो बराबर राजस्व सङ्कलन भएको हो । यो सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ३।४५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको माघ मसान्तसम्म ६ खर्ब ४२ अर्ब ४५ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
मन्त्रालयका अनुसार माघ मसान्तसम्म कुल ८ खर्ब १३ अर्ब ६३ करोड १२ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएको थियो । सात महिनाको अन्त्यसम्म लक्ष्यको तुलनामा ८१.६१ प्रतिशत मात्र प्रगति हासिल भएको छ । यसले राजस्व परिचालनमा केही सुधार भए पनि लक्ष्य र प्रगति बीचमा ठुलो खाडल देखाएको छ ।माघ मसान्तसम्म सरकारले भन्सार महसुलतर्फ १ खर्ब ७० अर्ब ५० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य राखेको थियो । १ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । यो लक्ष्यको ७९.३७ प्रतिशत मात्र हो । यद्यपि, गत वर्षको सोही अवधिमा १ खर्ब २५ अर्ब ८५ करोड ७ लाख रुपैयाँ सङ्कलन भएको तुलनामा यस वर्ष ७.५३ प्रतिशतले वृद्धि देखिएको छ । भन्सार अन्तर्गत पैठारीमा ७.४४ प्रतिशत र निकासी तर्फ २०४.९३ प्रतिशतको वृद्धि देखिएको छ ।राजस्वको मुख्य आधार मानिने मूल्य अभिवृद्धि कर (भ्याट) तर्फको सङ्कलनमा पनि ७.६३ प्रतिशतको वृद्धि देखिएको छ । समीक्षा अवधिसम्म २ खर्ब १७ अर्ब २१ करोड रुपैयाँको लक्ष्य राखिएकोमा १ खर्ब ९६ अर्ब रुपैयाँ सङ्कलन भएको छ ।
गत वर्ष सोही अवधिमा १ खर्ब ८२ अर्ब ६० करोड रुपैयाँ सङ्कलन भएको थियो । भ्याट अन्तर्गत उत्पादन, बिक्री र सेवामा ७.८० प्रतिशत र पैठारीतर्फ ७.४२ प्रतिशतको वृद्धि भएको छ ।अन्तःशुल्क सङ्कलनमा दोहोरो अंकको सुधार देखिएको छ । गत वर्षको माघ मसान्तसम्म ९५ अर्ब ९ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १०.८८ प्रतिशतले वृद्धि भई १ खर्ब ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
यो अवधिमा १ खर्ब १५ अर्ब १४ करोड ७७ लाख रुपैयाँ सङ्कलन गर्ने सरकारको लक्ष्य थियो । आन्तरिक उत्पादनतर्फको अन्तःशुल्कमा १०.०५ प्रतिशत र पैठारीतर्फ १३.१४ प्रतिशतको वृद्धि भएको मन्त्रालयले जनाएको छ ।आयकर र अन्य राजस्व -गैर(कर) मा भने गिरावट देखिएको छ । आयकर तर्फ गत वर्ष माघ मसान्तसम्म १ खर्ब ५९ अर्ब ९६ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ०.८१ प्रतिशतले घटेर १ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ मात्र सङ्कलन भएको छ । आयकरको लक्ष्य २ खर्ब २० अर्ब ७ करोड ५४ लाख रुपैयाँ थियो ।
त्यसैगरी, गैर-कर राजस्वतर्फ गत वर्ष ७७ अर्ब २१ करोड ३ लाख रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष १५.८१ प्रतिशतले घटेर ६५ अर्ब ९ करोड ३ लाख रुपैयाँ मात्र सङ्कलन भएको छ । गैर-(कर राजस्वको लक्ष्य ८७ अर्ब १० करोड ८७ लाख रुपैयाँ रहेको थियो ।शिक्षा सेवा शुल्क र अन्य साना शीर्षकमा भने उत्साहजनक वृद्धि देखिएको छ । यस शीर्षकमा गत वर्ष २ अर्ब १४ करोड रुपैयाँ सङ्कलन भएकोमा यस वर्ष ६१.०७ प्रतिशतले वृद्धि भई ३ अर्ब ४४ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।विभागीय रूपमा हेर्दा भन्सार विभागले माघ मसान्तसम्म २ खर्ब ७८ अर्ब ४२ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । यो गत वर्षको तुलनामा ८.०४ प्रतिशतले बढी हो । भन्सारलाई यो अवधिमा ३ खर्ब ३२ अर्ब ११ करोड उठाउने लक्ष्य दिइएको थियो । यो सङ्कलन लक्ष्यको ८३।८४ प्रतिशत हो ।
अर्कोतिर आन्तरिक राजस्व विभागले ३ खर्ब २० अर्ब रुपैयाँ सङ्कलन गरेको छ, जसमा ४.२१ प्रतिशतको वृद्धि देखिएको छ । आन्तरिक राजस्वलाई यो अवधिमा ३ खर्ब ९४ अर्ब १२ करोड उठाउने लक्ष्य दिइएको थियो । यो राजस्व सङ्कलन लक्ष्यको ८१.३६ प्रतिशत हुन आउँछ ।


