राष्ट्रिय विकासमा युवाशक्तिको उपयोग

  • 304
    Shares
राष्ट्रिय विकासमा युवाशक्तिको उपयोग

युवाशक्ति

विकासको साधन र साध्य दुवै मानिस हो र यसमा पनि विकासमा युवा जनशक्तिको योगदान अझ महत्वपूर्ण रहेको हुन्छ । नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ । शारीरिक र मानसिक विकासका दृष्टिले युवा भन्नाले किशोर अवस्था र वयस्क अवस्थाबीचको उमेर समूहलाई जनाउँछ भने युवा शक्ति कुनै पनि देशको राजनैतिक¸ आर्थिक र सामाजिक परिवर्तनको संवाहक हो । यो समूह जनसङ्ख्याको सर्वाधिक सक्रिय¸ उर्जावान र गतिशिल समूह पनि हो । विकास कार्यमा युवा जनशक्तिको परिचालनले विकासलाई दिगो, आधुनिक र जनमैत्री बनाउन टेवा पुराउँदछ । युवा जनशक्तिको सङ्ख्यात्मक तथा गुणात्मक विकासका माध्यमबाट अहिलेका विकसित तथा विकासशील राष्ट्रले विकास निर्माणमा प्रगति हासिल गरेको देखिन्छ । नेपालजस्तो विकासोन्मुख र स्रोत साधनले भरिपूर्ण देशका लागि त अझ युवा जनशक्तिको प्रयोग अपरिहार्य जस्तै रहेको छ । मानवीय उर्जा,सीप र क्षमताले भरिपूर्ण साधन वास्तवमा युवा जनशक्ति हो ।

 

नेपालमा युवाको वर्तमान अवस्था

हाल  नेपालमा कूल जनसङ्ख्याको ४०.३५ प्रतिशत युवाको जनसंख्या ९१ करोड ७ लाख रहेको छ । करिब १९.२ प्रतिशत युवा पूर्ण वेरोजगार रहेको¸ कृषिमा युवाहरुको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवाहरु स्नातक भएर पनि बेरोजगार बस्नु परेको अवस्था विद्यमान छ । आज बेरोजगारीको कारण युवाहरु प्रतिवर्ष ५¸३८¸००० रोजगारीका लागि विदेशिने गरेका र यी मध्ये ७४ प्रतिशत अदक्ष¸ २४ प्रतिशत अर्द दक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिको रुपमा रहेका छन् । वैदेशिक रोजगारीमा गएका युवाहरुले विदेशमा काम गरी कमाएको रकम रेमिटेन्सको रुपमा नेपाल भित्रिने गर्दछ जसको राष्ट्रिय  अर्थतन्त्रमा २९ प्रतिशत योगदान रहेको छ । त्यस्तै सीप र प्रविधिको अभावमा अफगानिस्तान¸ इजरायल¸ मलेशिया तथा खाडीका मुलुकहरुमा काम गर्न जाने युवाहरु अधिकाँश अदक्ष श्रमिकको रुपमा रहेकोले जोखिमपूर्ण काम गर्न परिरहेको र यसैकारण उनीहरुको जीवन थप जोखिमपूर्ण बनिरहेको  तीतो सत्य आजको यथार्थता हो । यस बारेमा सम्वद्ध पक्षको गम्भिर ध्यान जानु जरुरी देखिन्छ ।

 

 

समस्या र समाधान

मुलुकको विकासका लागि खर्चनुपर्ने पर्ने मानवीय उर्जालाई सहि तरिकाले सही ठाउमा मुलुकले उपयोग गर्न नसकेमा श्रमशक्ति स्वत नाश भएर जान्छ र स्रोत साधनको कुशलतम उपयोग हुन सक्दैन फलस्वरुप बाह्य शक्ति राष्ट्रिय भूमिमा हावी हुन जाने सम्भावना रहन्छ जुन कुराले मुलुकको राष्ट्रियता माथि नै चुनौति खडा गर्न सक्दछ । यसरी उद्यमशिलता र स्वरोजगार का लागि युवाशक्ति आकर्षण गर्ने दायित्व राज्यमाथि रहेको हुन्छ । युवाहरु व्यवसायिक र उद्यमशील बनाउने वातावरण सिर्जना गर्ने महत्वपूर्ण जिम्मेवारी राज्यको हो । हाम्रो सन्दर्भमा हेर्दाखेरि विकास–निर्माणमा र युवालाई नेतृत्वमा पु(याउने कार्यमा राज्य चुकेको देखिन्छ । युवावर्गलाई देशभित्रै रहेर विकास निर्माण र सामाजिक कल्याणमा जीवन व्यतीत गर्न सक्ने नीति निर्माण र कार्यान्वयन गर्नु आजको आवस्यकता हो । युवा जनशक्तिलाइ सही ठाउँमा उपयोग गर्न नसकेमा एकातर्फ  लागूपदार्थको दुव्र्यसनी, लुटपाट, चोरीडकैती, बलात्कार, हत्याहिंसाजस्ता कार्यमा संलग्न हुन जान्छन् भने अर्कोतर्फ बेरोजगारी, सामाजिक, मनोेवैज्ञानिकलगायत समस्याका कारण हजारौंको संख्यामा शिक्षित युवावर्ग अवसरको खोजीमा विदेश पलायन भएका कारण देशमा प्रतिभा पलायनको क्रमसमेत  बढेर जान्छ । जसले युवावर्गहरुलाई विकास छोडेर विनाशतर्फ प्रेरित गराउँदछ ।

 

युवाशक्तिलाई मुलुकको समृद्धिका खातिर प्रयोग गर्नका लागि व्यवहारिक र जीवनपद्धति अनुकुलको शिक्षा प्रणाली, युवा लक्षित कार्याक्रमहरुको तर्जुमा र कार्यान्वयन र तेतृत्व तहमा युवापुस्ता सहभागिताको सुनिश्चितता कायम गर्नुपर्दछ । बैंकिङ तथा सूचना प्रविधिका क्षेत्रमा युवा नेतृत्वले उल्लेख्य प्रगति गरेको छ, जुन राम्रो दृष्टान्तका रूपमा रहेको पनि छ । सूचना प्रविधिको विकास तथा प्रयोगबाट नेपाली युवाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति राख्न सफल भएका छन् । यो कार्य आमयुवावर्गकै लागि पनि गर्व गर्ने विषय पनि हो । समग्रमा युवा नै देशको समस्त विकासको महत्वपूर्ण जनशक्ति हुन्, तसर्थ उनीहरूलाई परिचालन गर्नका लागि राज्यले युवामैत्री नीति तथा कार्यक्रमहरु लागू गरी राजनीतिके नेतृत्वतहसम्म युवाको मुलप्रवाहीकरण गर्नुपर्दछ ।

–पीताम्बर न्यौपाने