दस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

  • 2
    Shares
दस अर्बको रिपो जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, कात्तिक। नेपाल राष्ट्र बैंकले कात्तिक ४ गते दस अर्ब रूपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले सात दिन अवधिको रिपो जारी गर्ने सूचना बुधबार आफ्नो वेबसाइटमा सार्वजनिक गरेको हो।
केही समयदेखि बैंकहरूमा पैसा अभाव हुँदै आएको थियो। पछिल्लो मौद्रिक नीतिले बैंकसँग भएको निक्षेप र उनीहरूले दिन सक्ने कर्जाको अनुपात ९सिडी रेसियो० अधिकतम ९० प्रतिशत कायम हुनुपर्ने व्यवस्था गरेको छ। तर केही बैंकले यो अनुपात कायम गर्न सकिरहेका छैनन्। त्यसैले केही बैंकहरूले कात्तिक १ गतेदेखि बचतमा ब्याजदर बढाएर ११ प्रतिशतसम्म पुर्‍याएका थिए। तर बढाएको दुई दिन पनि नहुँदै राष्ट्र बैंकले बढेको ब्याज फिर्ता गराइदियो।मंगलबार राति ब्याजदर फिर्ता लिएर बुधबार नयाँ ब्याजदर कायम गर्न निर्देशन दिएको राष्ट्र बैंकले बुधबार साँझ दस अर्ब रूपैयाँको रिपो जारी गर्ने सूचना सार्वजनिक गरेको हो।

राष्ट्र बैंकद्वारा जारी सूचनाअनुसार आगामी कात्तिक ११ गते परिपक्व हुने दस अर्ब बराबरको रिपो बोलकबोल माध्यमबाट बैंकिङ प्रणालीमा प्रवाह गर्न लागिएको छ। बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका बैंक वित्तीय संस्थाले भाग लिन पाउने छन्। बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ। गत असोज २० गते पनि बीस अर्ब बराबरको १४ दिन अवधिको रिपो जारी गरिएको थियो। तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरण प्रयोग गर्छन्।