९ लाख मानिसले काठमाडौँ उपत्यका छाडे

  • 2
    Shares
९ लाख मानिसले काठमाडौँ उपत्यका छाडे

काठमाडौँ, असोज । चाडबाडको सिजनमा यस महिना करिब ९ लाख मानिसले काठमाडौँ उपत्यका छाडेका छन् । दसैँ(तिहार तथा छठलगायतका पर्वको सिजन रहेकाले विभिन्न कामको सिलसिलामा काठमाडौँमा रहेकाहरू घर फर्केका हुन् ।

असोज महिना लागेयता फूलपातीको दिनसम्म उपत्यका छाड्नेको सङ्ख्या ९ लाख पुगेको यातायात व्यवसायीले बताएका छन् । काठमाडौँ नजिकका जिल्लामा दशैँको टीकाकै दिनसम्म मानिसहरू जाने गरेकाले यो संख्या अझै वृद्धि हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । उनका अनुसार यस वर्ष गत वर्षभन्दा दोब्बर यात्रु उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । गत वर्ष भने कोरोना सङ्क्रमणको जोखिमका कारण कडाइ थियो, यसपालि मानिसहरूमा उक्त संक्रमणको त्रास समेत कम भएको छ ।

सिटौलाका अनुसार दसैँको अघिल्लो दिनसम्ममा झण्डै १२ लाख उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उनले भने, ‘दुई(तीन दिनमा उपत्यका छाड्नेको सङ्ख्या अझै बढ्नेछ ।’ सरकारले घटस्थापना ९असोज २१० देखि नै सवारीसाधन जुनसुकै रुटमा गुड्न पाउने गरी खुला गरिसकेको छ भने अग्रिम टिकट खुलाइएकोले पनि यसपालि यात्रुसंख्या बढेको हो ।

घटस्थापनाको केही दिनसम्म पनि कार्यालय सञ्चालन हुने भएकाले सार्वजनिक बिदादेखि नै उपत्यका छाड्नेको सङ्ख्या बढ्ने गर्छ । यतिबेला यात्रु एकोहोरो जाने मात्रै धेरै रहेको महासचिव सिटौलाले बताए । कोरोना संक्रमण नहुँदा दुई वर्ष पहिलेसम्म दशैँको बेला २५ लाखभन्दा बढीले मानिसले उपत्यका छाड्ने गरेका थिए ।

दसैँको समयमा सडकमा सवारीसाधनको चाप ह्वात्तै बढ्ने भए पनि यो वर्ष देशभरका धेरै सडक बिग्रिएका थिए । केही दिन पहिलेसम्म पनि वर्षा नरोकिएकाले मर्मत सुरु गर्न नसकिएको सडक विभागले जनाएको थियो । एक सातायता भने तीव्र रुपमा मर्मत भइरहेको छ ।