न्युरोडका ५ पसललाई कारवाही

  • 2
    Shares
न्युरोडका ५ पसललाई कारवाही

काठमाडौं, असोज। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौ न्युरोडका ५ वटा पसलहरूलाई कारबाही गरेको छ । पसलहरु नियमानुसार सञ्चालन नभएको पाइएपछि न्युरोडको खिचापोखरीका पाँच पसललाई विभागले कारबाही गरेको हो ।कारबाहीमा परेका तीनवटा पसलहरूले दर्ता नै नगरिकन पसल सञ्चालन गरेको पाइएपछि विभागले १५र२० हजार रुपैयाँका दरले कारबाही गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृत अमितकुमार झाले बताए ।झाले नियमानुसारको मापदण्ड पालना नगरेको दुईवटा पसलहरूमा भने मुख्य व्यापारी नै पसलमा नभएकोले तीन दिनको समय दिएर कारबाहीका लागि विभागमै उपस्थित हुन निर्देशन दिएको बताए । निरीक्षण अधिकृत झाले भने, ‘न्युरोडको खिचापोखरीमा अनुगमन गर्यौं,७ वटा पसलहरूमा अनुगमन गर्यौं, कपडा पसल, भाँडा पसल, २ वटा खाद्यान्नका पसलहरूमा अनुगमन गर्यौं, ७ पसलमध्ये दुई तीनवटा दर्ता नै नगरी सञ्चालन गरेको पाइयो, जसलाई हामीले तत्काल जरिबाना गर्यौं,कसैलाई १५, कसैलाई २० हजारको दरले जरिबाना गर्यौं, एकदुई वटा पसलहरूमा स्वयं साहु नभएको हुनाले उहाँहरुलाई तीन दिनको समय दिएर विभागमा बोलाएका छौँ ।’सरकारले चाडपर्वलाई लक्षित गरी बजार अनुगमनलाई तीव्रता दिइरहेको छ । विभागको तर्फबाट चाडपर्वलाई लक्षित गरी व्यापारीहरुले ग्राहकहरुलाई नठगुन् र बिक्री गरिएका सामग्रीहरुको गुणस्तर जाँच गर्न प्रत्येक दिनजसो अनुगमन गरिरहेको छ ।