५० लाख रुपैयाँ पुम्दीकोटका लागि : मुख्यमन्त्री पोखरेल

  • 26
    Shares
५० लाख रुपैयाँ पुम्दीकोटका लागि : मुख्यमन्त्री पोखरेल

पोखरा, साउन। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको बताउँदै यसको प्रवद्र्धन गरिनुपर्नेमा जोड दिएका छन्।
पुम्दीकोट विकास समितिद्वारा पोखरा महानगरपालिका–२२ पुम्दीकोटमा निर्माणाधीन विशाल महादेव मूर्तिलगायतका संरचना अवलोकनपश्चात सोमबार उनले पर्यटन र कृषि नै प्रदेश समृद्धिको आधार भएकाले त्यसैअनुसारको योजना बनाएर अघि बढ्ने बताए।

उनले प्रदेशभित्रका धार्मिक पर्यटकीय महत्वका नवलपुरको गजेन्द्रमोक्ष धाम, देवघाट, पुम्दीकोट हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। जनस्तरबाट शुरु गरी पुम्दीकोटमा यति ठूलो लगानीमा काम भएकामा प्रशंसा गर्दै उनले विगत वर्षमा जस्तै प्रदेश सरकारको सहयोग निरन्तर रहने बताए।

प्रदेश सरकारले यस वर्ष पनि ५० लाख पुम्दीकोटका लागि छुट्याएको मुख्यमन्त्री पोखरेलले जानकारी दिए। पुम्दीकोटको महत्वलाई बुझेर क्षमताअनुसार सहयोगका साथै आसपासका बाटोका निर्माणका लागि सङ्घ सरकारसँग समन्वय गर्ने उनले बताए।अर्थमन्त्री रामजीप्रसाद बरालले पुम्दीकोट पुग्ने बाटो निर्माण प्राथमिकतामा राख्नुपर्ने बताउँदै धार्मिक पर्यटकीय केन्द्रका रूपमा स्थापित पुम्दीकोटमा मन्दिरका लागि सरकारले अझै रकम थप्नुपर्ने उल्लेख गरे। उनले राज्यस्तर र जनस्तरबाट लगानी भएको यस परियोजनालाई सार्थक बनाउने जिम्मा आफूहरूकै रहेको बताए।

कार्यक्रममा मन्त्री कुमार खड्का, मेखलाल श्रेष्ठ, विन्दुकुमार थापा, चन्द्रबहादुर बुढा, दीपक थापासहित प्रदेशसभा सदस्यको उपस्थिति थियो । कार्यक्रममा गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस सचेतक ओमकला गौतमले पर्यटन प्रवद्र्धनबाटै समृद्धि सम्भव भएको र धार्मिक केन्द्रहरूको निर्माणले यसमा अझै टेवा पुग्ने बताए।

समितिका अध्यक्ष चन्द्रकान्त बरालले जनस्तरबाट थालेको प्रयासले अहिले विशाल रूप लिएको भन्दै विश्वकै पर्यटक आकर्षण गर्ने स्थलका रूपमा यसको विकास गर्न लागिएको र सरकारीस्तरबाट समेत थप सहयोगको अपेक्षा गरे। पुम्दीकोटलाई शिवधामका रूपमा स्थापित गरी धार्मिक केन्द्रका रूपमा विकास गरेमा स्वाभाविकरूपमा आम्दानी बढेर जाने उनको भनाइ छ।