चालु आर्थिक वर्षको ९ महिना पूँजीगत खर्च अत्यन्त न्यून

  • 8
    Shares
चालु आर्थिक वर्षको ९ महिना पूँजीगत खर्च अत्यन्त न्यून

काठमाडौँ, बैैशाख । सरकारको चालू आर्थिक वर्ष २०७७/०७८ को पहिलो ९ महिनामा २९ दशमलब २२ प्रतिशतमात्र पुँजीगत खर्च भएको छ । सरकारले चालू आर्थिक वर्षमा ३ खर्ब ५२ अर्ब ९१ लाख ७५ हजार पुँजीगत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, चालू आर्थिक वर्ष सकिन तीन महिनामात्र बाँकी हुँदा १ खर्ब ३ अर्ब १२ करोड ९४ लाख रुपैयाँ मात्र पुँजीगत खर्च भएको हो ।

कोरोना महामारी र राजनीतिक अस्थिरताका कारण आर्थिक गतिविधिमा संकुचन आएसगै चालु आर्थिक वर्षको ९ महिना पूँजीगत खर्च अत्यन्त न्यून छ । अर्थ मन्त्रालयले अर्धवार्षिक समीक्षापछि पुँजीगत खर्चको कुल रकमसमेत घटाएको थियो ।

अर्थ मन्त्रालयका अनुसार चालू वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट बिनियोजन गरेकोमा अर्धवार्षिक समीक्षापछि यसलाई १३ खर्ब ४४ अर्बमा झारेको छ । मन्त्रालयको संशोधित अनुमानअनुसार चालूतर्फ ९ खर्ब १४ अर्ब र पुँजीगततर्फ २ खर्ब ८३ अर्ब रहेको छ ।

सरकारले ९ महिनामा चालू खर्च भने ५ अर्ब २५ खर्ब ९४ लाख ६८ हजार भएको छ, जुन लक्ष्यको ५५ दशमलब ४२ प्रतिशत हो । चालू आर्थिक वर्षको सुरुमा ९ खर्ब ४८ अर्ब ९४ करोड ६ लाख साधारण खर्चको लक्ष्य राखिएको थियो । ठूला आयोजनाहरुको पर्याप्त अनुगमन र राजनीतिक स्वार्थका कारण पूँजीगत कम भएको जानकारहरुको तर्क छ ।

वित्तीय व्यवस्थापनतर्फ ५७ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ खर्च भएको महालेखा नियन्त्रकको तथ्याङमा उल्लेखछ । जुन वित्तीय व्यवस्थापनको लक्ष्यको ३३ दशमलब ३३ प्रतिशत हो । यसरी चालू, पुँजीगत र वित्तीय हस्तान्तरणतर्फ गरेर चालू आर्थिक वर्षको पहिलो नौ महिनामा कुल ६ खर्ब ८६ अर्ब ६६ करोड ४७ लाख रुपैयाँ खर्च भएको छ, जुन सरकारको लक्ष्यको ४६ दशमलब ५६ प्रतिशत हो ।