भारतमा भयावह बन्दै कोरोना विभिन्न राज्यहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यु घोषणा गर्ने क्रम सुरु

  • 3
    Shares
भारतमा भयावह बन्दै कोरोना विभिन्न राज्यहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यु घोषणा गर्ने क्रम सुरु

एजेन्सी, चैत। भारतमा कोरोना भाइरसको संक्रमण फेरि भयावह बन्न थालेपछि विभिन्न राज्यहरूमा लकडाउन र रात्रिकालीन कर्फ्यु घोषणा गर्ने क्रम सुरु भएको छ ।

आइतबार मात्र भारतमा ६८ हजारभन्दा बढी संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६८ हजार २ सय ६६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार भारतमा १६८ दिनपछि सबैभन्दा बढी संक्रमण पुष्टि भएको हो । योसहित कुल संक्रमितको संख्या करिब १ करोड २० लाख पुगेको छ । त्यसमध्ये १ करोड १३ लाखभन्दा बढी निको भइसकेका मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोना संक्रमणका कारण हालसम्म मृत्यु हुनेको संख्या १ लाख ६१ हजार ५ सय ५२ पुगेको छ ।

भाइरसका कारण सबैभन्दा बढी महाराष्ट्र प्रभावित देखिएको छ । केही दिनयता त्यहाँ संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । महाराष्ट्रका ३६ जिल्लामध्ये २५ बढी प्रभावित छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म २४ करोड जनामा कोरोना परीक्षण गरिएकामा समग्रमा ५ प्रतिशतमा पोजिटिभ देखिएको थियो । तर, महाराष्ट्रमा भने २२।७८ प्रतिशतभन्दा बढी रहेको मन्त्रालयले जनाएको छ । महाराष्ट्रमा गएको एक दिनमा करिब ४० हजार नयाँ संक्रमित थपिएका छन् । भारतीय सञ्चार माध्यमका अनुसार पछिल्लो एक सातामा भारतभर थपिएका कुल संक्रमितमध्ये ६० प्रतिशतभन्दा बढी यिनै २५ जिल्लाका हुन् ।
महाराष्ट्र सरकारले संक्रमणको ग्राफ चिन्ताजनक ढंगले उकालो लाग्न थालेपछि अप्रिल १५ सम्मका लागि रात्रिकालीन निषेधाज्ञा बढाइएको छ । सपिङ मल, रेस्टुराँहरू राति ८ बजेपछि बन्द गराइएको छ । राति ८ बजेदेखि बिहान ७ बजेसम्म बगैंचा र तटीय क्षेत्रमा जान रोक लगाइएको छ । मुख्यमन्त्री उद्धव ठाकरेले परिस्थितिमा सुधार नआए लकडाउन गर्ने चेतावनी दिएका छन् ।
मानिसहरूले स्वास्थ्य मापदण्ड पालनामा लापरबाही गरेका भन्दै ठाकरेले कोभिड–१९ नियन्त्रणका लागि गठित विशेष कार्यदललाई आइतबार लकडाउनका लागि गृह कार्य गर्न निर्देशन दिएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । महाराष्ट्रको राजधानी मुम्बईमा मात्र ५५ स्थानलाई संक्रमणका आधारमा उच्च जोखिमका क्षेत्र घोषणा गरिएको छ ।
दक्षिण भारतीय राज्यहरूमा पनि संक्रमण फेरि बढ्दै गएको छ । पछिल्ला दिनमा कर्नाटक, तेलंगना, केरला, गुजरात र पन्जाबमा दिनहुँ संक्रमितको संख्या बढ्दो छ । त्यसैगरी मध्यप्रदेश सरकारले होलीमा हुने भीडलाई रोक्न इन्दौर सहरमा आइतबार र सोमबारका लागि लकडाउन गरेको छ ।
संक्रमण हिसाबले राजधानी दिल्ली पनि पछि छैन । दिल्लीमा आइतबार एकै दिन १ हजार ८ सय ८१ संक्रमित थपिएका छन् र ९ जनाको मृत्यु भएको छ । संक्रमण तीव्र भएका राज्यहरूमा नेपाली कामदारको बाक्लो उपस्थिति छ । ती स्थानमा संक्रमण तीव्र हुँदै जाँदा र खुला नाका भएकाले त्यसको असर नेपालमा पनि पर्ने देखिएको छ । भारत सरकारले अप्रिल १ देखि ४५ वर्षभन्दा माथि उमेरका नागरिकलाई खोप लगाउने घोषणा गरिसकेको छ ।
यसअघि स्वास्थ्यकर्मी तथा कोभिड महामारीविरुद्ध अग्रमोर्चामा खटिएका, ६० वर्षका माथिका र जटिल रोगले पीडित ४५ वर्षमाथिका नागरिकलाई कोरोना खोप दिइसकिएको छ । भारत सरकारले जुलाई महिनासम्म २७ करोड जनालाई खोप लगाउने लक्ष्य लिएको छ । भारतमा अहिलेसम्म ६ करोड ५ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।