शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

  • 5
    Shares
शहीदको सपना साकार पार्न सरकार क्रियाशील छ : प्रधानमन्त्री

काठमाडौँ,  माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताउनुभएको छ । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उहाँले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताउनुभयो ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पुर्याउन बलिदानी दिने शहीदको योगदानका कारण नेपालमा गणतन्त्र सफल भएको बताउनुभयो ।

सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, जनप्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, जनसाधारणलगायतको सहभागिता थियो । सभा हुनुअघि रत्नपार्क शान्तिवाटिकामा भेला भई बाजागाजासहित लैनचौरसम्म प्रभातफेरी गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको टुकडीले शहीदप्रति सलामी चढाएको थियो ।