विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको : प्रधानमन्त्री ओली

  • 5
    Shares
विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको : प्रधानमन्त्री ओली

काठमाडौं, असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ ।
उहाँले संविधानले विभेद गरेको पुष्टि भए औचित्य र आवश्यकताका आधारमा संसोधन गरी अगाडि बढ्न सक्ने बताउनुभयो । संविधान दिवसका अवसरमा काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालको संविधान सबैलाई अटाउने संविधान रहेका भन्दै आशंका वा अस्पष्टता भए त्यसलाई हटाउन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले अब देशको विकासमा जुट्न पनि आग्रह गर्नुभएको छ । विकासको काम भइहाल्छ नि भनेर पन्छिने अवस्था नरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सरकारले गरेका कामहरुलाई समीक्षा गर्दा उत्साहजनक रहेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, डिलमा बसेर आलोचना गर्नु बेग्लै कुरा हो, तर महामारी नियन्त्रणका लागि चालिएका कदमहरुको समीक्षा गर्ने हो भने अहिलेसम्मको कामका उराठलाग्दो नभई उत्साहजनक देखिएको छ । अहिले देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ पीसीआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा रहेको र परीक्षणको दैनिक क्षमता २३ हजार ५ सय भन्दा धेरै रहेको समेत उहाँले बताउनुभयो । उहाँले महामारीको जोखिम कम हुनासाथ अर्थतन्त्र पुरानै लयमा फर्किने र ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने दिशामा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सुशासन र पारदर्शिता विकासको अत्यावश्यक शर्त भएको पनि बताउनुभएको छ ।