नेकपा सचिवालय बैठक सुरु

नेकपा सचिवालय बैठक सुरु

काठमाडौं, भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक बिहीबार बिहान मात्र दिउँसो ३ बजेका लागि सारिएको थियो।
अर्थमन्‍त्री युवराज खतिवडाको निरन्तरता तथा राष्ट्रिय सभामा मनोनयनलगायतका महत्वपूर्ण विषयमा शीर्ष नेतृत्वबीच थप छलफल आवश्यक भएको भन्दै बैठक बोलाइएको हो।

बुधबार साँझ पनि सचिवालय बैठकको एजेण्डामाथि अध्यक्षद्वय  केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बालुवाटारमा छलफल भएको थियो। बैठकमा राष्ट्रिय सभामा खाली रहेको पदमा मनोनयन गर्नेबारेमा सचिवालय बैठकमै छलफल गरेर निष्कर्षमा पुग्ने अध्यक्षद्वबीच सहमति भएको छ।

राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका लागि अर्थमन्त्री डा। खतिवडा वा उपाध्यक्ष वामदेव गौतम को हुने भन्ने बारेमा दुई अध्यक्षबीच कुरा मिल्‍न बाँकी रहेकोले बैठक सारिएको हो।

प्रधानमन्त्री ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दाहालबीचको बुधबारको छलफलअगाडि बालुवाटारमै दुवै नेताले आकांक्षीमध्येका एक अर्थमन्त्री खतिवडासँग पनि अलग्गै छलफल गरेका थिए।

ओलीले युवराजलाई निरन्तरता दिन चाहे पनि अर्का अध्यक्ष प्रचण्डलगायत पार्टीका वरिष्ठ नेताहरू त्यसमा सहमत हुन सकेका छैनन्। युवराजले  खासै परफरमेन्स देखाउन नसकेको भन्दै पार्टीभित्रैबाट अर्थमन्‍त्री परिवर्तन गर्नुपर्ने माग र दबाब पहिलेदेखि नै छ।

सरकारले भदौ २० भित्र राष्ट्रियसभामा रिक्त रहेको एक पदमा मनोनित गर्नुपर्ने अवस्था छ। संविधानको धारा ७८ को उपधारा १ बमोजिम खतिवडा गैह्र सांसदका रुपमा मन्त्री बनेका थिए। संघीय संसदको सदस्य नरही पनि ६ महिनासम्म मन्त्री हुन पाइने प्रावधान अनुरुप खतिवडालाई नै अर्थमन्त्रीमा निरन्तरता दिइएको थियो। सोही समयदेखि उक्त पद खाली रहेको छ।

भदौ २० गतेपछि अर्थमन्त्रीकै रुपमा निरन्तरता पाउन उनलाई राष्ट्रियसभाको सांसदमा पुनः नियुक्ति गर्नुपर्ने हुन्छ। तर त्यो पदमा उपाध्यक्ष वामदेवलाई पठाउने निर्णय पहिले नै भइसकेको छ र गौतम स्वयम पनि राष्ट्रियसभामा जान इच्छुक देखिएका छन्।

यस अगाडि फागुन १४ गते नेकपा सचिवालयले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन मन्त्रीपरिषदमार्फत राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। तर निर्णय कार्यान्वयन नहुँदा नेकपामा विवाद उत्पन्न भएको थियो।