प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरको गुरु योजना

प्रसिद्ध ऐतिहासिक कालिका भगवती मन्दिरको गुरु योजना

“बागलुङ कालिका–ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं प्राकृतिक सम्पदा”


परिचय
प्रकृति प्रदत्त सुन्दर वातावरण र सात्विक भावनाको मनोहर सङ्गम धौलागिरी हिमालको काखमा, उत्तरबाट नागवेली परेर कलकल ध्वनिसहित सुसाउदै सललल बग्ने कालिगण्डकी र पूर्वतर्फ बग्ने काठेखोला मिसिएको दोभानको ठीक माथि बाङ्ेचौरसंग जोडिएको प्राकृतिक सुन्दर वातावरणको रमणीय जंगलमा दृष्टिगोचर हुन्छ ! कालिका भगवती मन्दिर । कालिकाको दर्शन वा कालिकालाई आत्मानुभूति नगरिकन मरणरुपी भवसागरबाट मुक्ति पाउन सकिदैन भन्ने जनविश्वास रहेको छ । कालिका मन्दिर धार्मिक एवं पर्यटन क्षेत्रको उत्कृष्ट स्थल हो ।


नेपाल राज्यको धौलागिरी अंचलमा पर्ने बागलुङ जिल्ला नेपाल भित्रको सानो नेपालले चिनिन्छ । हुन त बागलुङ जिल्लालाई चिनाउने अन्य विभिन्न उत्पादन स्थान र क्षेत्रहरु नभएका पनि होइनन । जस्तो झोलु¨ेपुल, बुट्टेनली, एक मात्र शिकार आरक्ष (ढोरपाटन) आदिले पनि यस जिल्लाको पहिचान देश विदेशमा फैलिएको छ । बागलुङको खास पहिचान भनेकै यहाँको ऐतिहासिक कालिका भगवतीको मन्दिर हो । चैत्राष्टमी (चैते दशैं)े राष्ट्रिय स्तरमै महत्वपुर्ण स्थान राख्ने मेला र कालिका भगवतीको ऐतिहासिक सम्वन्ध रहेको छ ।


ऐतिहासिक पृष्ठभूमि
पर्वतका राजा प्रतापी नारायण मल्लको पाल्पाली राजा मणि मुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसंग वि.सं. १५९१ मा विवाह हुंदा राजकुमारीले पाल्पा माझकी देवी (कालिका देवी) साथमा ल्याई यस पावन भूमिमा वैदिक विधिपूर्वक प्रतिष्ठापन गरिएको हो । श्रुतिस्मृति अनुसार, राजकुमारीको विवाह पश्चात जन्ती पर्वत फिर्ता हुन लाग्दा देवीको खड्ग र डोली दरवारमा रहेका कसैले उठाउदापनि उठाउन नसकेपछि बाह्य व्यक्तिको खोजी भयो । सोही अवस्थामा एकजना शिकारी भेषधारी व्यक्तिलाई देवीको खड्ग समात्न अनुरोध गर्दा खड्ग उठेको र आफ्नो कामको लागि पाल्पा पुगेका बागलुङ लुङगाउका मगरहरुलाई डोली बोक्न लगाउदा देवीको डोली उठेको थियो । शिकारी भेषधारी खड्ग उठाउने ती व्यक्ति चक्र पुवार थिए ।
राजकुमारी यी कालिकादेवीको अनन्य भक्त थिइन । भनिन्छ, यिनले कालिकादेवीको प्रत्यक्ष दर्शन पाउँथिन । कालिका देवीलाई पहिला माझकीदेवी, काली, कालिकादेवी, श्री देवी, माइस्थानको नामले पुकारेको पाइन्छ । कालिकादेवीको वारेमा प्राप्त कागजातहरु र लालमोहरहरुमा भगवती भनी उल्लेख गरिएको देखिदैन । केही वर्ष पहिले देखि मात्र कालिकादेवीको अर्काे नाम भगवती पुकारिन थालिएको हो ।
पर्वत राज्य वि.सं. १८४३ मा नेपालमा गाभिएपछि वि.संं. १८४५ मा सरदार अमरसिंह थापाले पुजारी रामचन्द्र खड्काको नाममा गरिदिएको सनद जुन वि.सं. १८४८मा तत्कालीन श्री ५ महाराजधिराजबाट लालमोहर भएको थियो । उक्त लालमोहर नै खड्का पुजारीलाई प्राप्त पहिलो लालमहोहर देखिन आएको छ ।
वि.सं. १८५९ सालमा श्री ५ महाराजधिराजबाट कृष्ण खड्का र जयविन्द खड्काको नाममा भएको लालमोहरमा “बागलुङ चौरकी कालिकादेवीको गुठ अक्षत्या चांफावोट षेत १ पाडाका तीन भाइका परिवारले पायाको बारी घडयारी तस्को साध पुर्व थाइलाको वृत्ता यति चार किल्लाभित्रको जगह समालको १४ पुस्तादेषी गुठ राष्याको रहेछ मुलुक मार्दा हाम्रा भारदारले जांची बुझी श्री बाज्यूका हजुरमा बिन्ती गरी थामी बक्स्याको रहेछ सोही लालमोहर बमोजिम हामीले पनि थामी बक्स्यौं” भनी लेखिएको छ । राजा प्रतापी नारायण मल्लले पाल्पादेखि कालिका देवीको खड्ग समाती आउने चक्र पुवारलाई खड्गा पदवी दिई पुजारी गराई गुठ राखिदिए । सोही समयदेखि यिनै चक्र पुवारका सन्तानहरु बागलुङका पुवार खड्का दाजुभाइहरुले हालसम्म अविच्छिन्न रुपमा कालिकादेवीको पुजारी भई सेवा गरिरहेका छन् ।
पुरानो कालिका मन्दिरका ऐतिहासिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपूर्ण झ्याल, ढोका, खापाहरुको संरक्षणका लागि समितिले कालिका कुञ्ज निर्माण गरी विशेष संरक्षण गरेको छ । बर्तमान व्यवस्थापन समितिले मन्दिरमा हाल रहेका धातुका सामानहरु जिन्सी खातामा सुचिकृत गरी राखेको छ । कालिका मन्दिर परिसरमा भक्तजनहरुका लागि आवश्यक पानीका धाराहरु तथा शौचालयको व्यवस्था गरिएको छ । पवित्र कालिगण्डकी नदीमा स्नान गरी कालिका देवीको दर्शन गर्न आउने श्रद्धालुहरुको पैदल आवागमनलाई ध्यानमा राखी मालढुाँदेखि मन्दिरसम्मको पैदल बाटोलाई ब्यवस्थित बनाइएको छ । टाढा–टाढादेखि आउने भक्तजनहरुको आवास तथा भोजनका लागि बागलुङ बजारमा हाल सुविधाजनक होटल तथा लजहरु रहेका छन् ।
नित्यपूजा
कालिका मन्दिरमा खड्का जातिका र आवश्यकता अनुसार व्राम्हण पुजारीहरुबाट समेत श्रीमहाकाली, महालक्ष्मी, महासरस्वती, शिव, गणेश लगायतका मूर्तिहरुमा बिधिवत नित्यपूजा हुने गर्दछ । कालिका मन्दिरमा हरेक शनिवार, मंगलवार तथा बडादशैं र चैते दशैंको नवदुर्गाका दिनहरुमा बिहान भजन कीर्तन हुने गर्दछ । कालिकादेवीको मन्दिरमा विशेषगरी मंगलवार, शनिवार र अष्टमी तिथिमा भाकल पूरा गर्न र देवीको पूजा गर्न भक्तजनहरुको निकै ठूलो भिड लाग्ने गर्दछ । देवीलाई सांक्षी राखी व्रतवन्ध, विवाह गर्न पनि यस मन्दिरमा निकै टाढा–टाढाबाट मानिसहरु आउने गर्दछन् । कालिका मन्दिरमा भक्तजनहरुबाट सुन चांदीका गहनाहरु, विभिन्न धातुका सामानहरु, जग्गा तथा नगद समेत गुठी व्यवस्थापन समितिको रसिद लिएर चढाउने गरिन्छ ।
चण्डीकाली मन्दिर
कालिका मन्दिर रहेको रमणीय जंगलको बीचमा चण्डीकालीको मन्दिर रहेको छ । कालिका मन्दिरको नित्यपूजा गर्ने पुजारीहरुले बिहान बेलुका चण्डीकाली मन्दिरमा आई पूजा गर्ने प्रचलन रहिआएको छ । चण्डीकाली मन्दिरमा लामो समय स्थानीय रणबहादुर खड्काले पुजारी भई दैनिक कार्य गरी आउनु भएकोमा हाल उहाँको अवसान पछि वहाँको परिवारबाट चण्डीकाली मन्दिरको रेखदेख तथा नियमित पूजा हुने गरेको छ ।
बलिपूजा
कालिका मन्दिरमा पंचवलीका रुपमा बोका, हांस, कुखुरा, रांगो, सुंगुर, आदि पशुपंक्षीहरु बलि दिइन्छ । यसै गरी भक्तजनहरुले बलिका रुपमा नरिवल, फुर्से, रोट, पिठो, खिर आदि पनि चढाउन ल्याउने गर्दछन् । कालिका मन्दिरमा परेवा उडाउनेको संख्या धेरै रहेको छ ।
पर्व तथा विषेश मेला
कालिका मन्दिरमा बडादशैं तथा चैते दशैंका अवसरमा धुमधाम रुपमा पूजा पाठ हुने गर्दछ । चैत्राष्टमीमा लाग्ने मेला राष्ट्रियस्तरमै विषेश महत्व राख्ने गर्दछ । चैत्राष्टमी मेलाको सन्दर्भमा स्थानीय उद्योगी, ब्यापारी, खेलाडी कलाकार आदिको सक्रियतामा महोत्सव, दोहोरीगीत, ठेलो, भलिबल आदि खेलकूद प्रतियोगिता एवं कृषि प्रर्दशनी आदि कार्यक्रमहरु आयोजना हुने गर्दछ । चैत्राष्टमी मेलाको अवसर पारेर सदरमुकाममा तीन पटक बागलुङ महोत्सव पनि सम्पन्न भैसकेको छ । परापूर्वकालदेखि नै चैतेदशैंमा स्वस्फूर्तरुपमा कालिकादेवीको प्राङ्गण बाङेचौरमा मेला लाग्ने गर्दथ्यो । त्यस समयमा स्थानीय लोक संस्कृतिको मोैलिकतालाई जो कोहीले नजिकबाट देख्न सक्थ्यो । यसैगरी स्थानीय उत्पादन डोका, डाला, ठेका, नाङ्ला, सोली, मादल लगायत फलाम, तामा आदिका भाडाकुंडा तथा घरेलु हतियारहरुको हाल पनि खरिद विक्रीे हुने गर्दछ । ऐतिहासिक चैत्राष्टमी मेलाको आयोजना कालिका भगवती गुठीले विभिन्न सरोकारवाला संघ, संस्था तथा निकायको सहकार्यमा नियमिति रुपमा संचालन गर्दै आइ रहेको छ ।
मन्दिर जाने बाटो
प्रसिद्ध कालिका भगवती मन्दिरमा पोखराबाट पोखरा–बागलुङ राजमार्ग (७० कि.मि.) बाट २ घण्टामा पुग्न सकिन्छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुस्मा बजारबाट ११ कि.मि. पश्चिम तथा अर्काे छिमेकी जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारदेखि १३ कि.मि. दक्षिणमा कालिका भगवतीको मन्दिर अवस्थित रहेको छ । यसैगरी मुस्ताङको मुक्तिनाथ मन्दिरमा यहाँदेखि जान ९० कि.मि. को दूरी पार गर्नु पर्दछ । मुक्तिनाथ तथा बेनी बजार जानको लागि कालिका मन्दिर परिसरको मालढुाँ हुदै जान सकिन्छ । बागलुङको बलेवा एयरपोर्टबाट मन्दिर आउन ८ कि.मि. को दूरी पार गर्नु पर्दछ। सवारी साधन लिएर आउने भक्तजनहरुका लागि मन्दिरको मुख्य प्रबेशद्धार अगाडि पार्किङ स्थलको व्यवस्था गरिएको छ।
रमणीय दृश्यहरु
धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिकोणले पनि रमण्ीाय ठांउमा रहेको प्रस्तुत मन्दिरको परिदृश्य नै अत्यन्त आकर्षक र मनमोहक रहेको छ । १८९–८–१–१ रोपनी क्षेत्रफलमा फैलिएको समस्त जँल क्षेत्र नै कालिका मन्दिर परिसर हो जहाँ १ सय भन्दा बढी जातका रुख विरुवाहरु रहेका छन् । जंगल भित्र चितुवा, बादर, कालिज, मालुवा इत्यादिका बन्यजन्तुहरु देख्न सकिन्छ । मन्दिर परिसरको उत्तर–पूर्वमा कालिगण्डकी नदी तथा दक्षिणमा काठेखोला बग्दै गरेको मनमोहक दृष्य देखिन्छ । मन्दिरको पुर्व तर्फ भ्यू प्वाइन्ट रहेको छ । यहाँबाट धेरै रमणीय स्थलहरु हेर्न सकिन्छ । विहान तथा बेलुकाको समयमा घुम्ने, हिड्ने मानिसहरुको संख्या पनि धेरै हुने गरेको छ । मन्दिरको मुख्य प्रवेशद्वार अगाडि कालिका पिकनिक स्पट रहेको छ । सुविधाजनक यो स्पटमा स्थानीय देखि टाढा टाढासम्मका मानिसहरु मनोरन्जन, पिकनिक तथा विभिन्न पार्टीका लागि आउने गर्दछन । कालिगण्डकीदेखि मन्दिर आउने पैदलबाटोमा बाफ आउने दुलो (गुफा) रहेको छ र भ्यू प्वाइन्ट नजिक पनि केही गुफाहरु देखिएका छन् । यी स्थलहरुको विज्ञहरुलाई ल्याएर अनुसन्धान गर्न बाकी रहेको छ । चण्डीकाली मन्दिरको दक्षिण तर्फ पात घुमाउने स्थल रहेको छ । यसै मन्दिरको उत्तर तर्फ माताले चिनेको बाटो (पैदल बाटो) बनेको रहेछ । यो स्थलमा पैरो गएकोले हाल बाटोको भग्नावेश मात्र देख्न सकिन्छ । यो स्थलको विषेश संरक्षण गर्नुपर्ने आवश्यकता देखिन्छ ।
ब्यवस्थापन समितिको गठन
२०३२ सालदेखि गुठी संस्थानको सामान्य रेखदेख र नियन्त्रणमा कालिका भगवती मन्दिरको संचालन भैरहेको छ । गुठी संस्थानको मिति २०६८ चैत्र २२ को निर्णय अनुसार गठित व्यवस्थापन समितिले चैत्र ३० गतेबाट आफ्नो कार्य प्रारम्भ गरेको थियो । तत पश्चात थप गरिएको ५ वर्षे कार्यकाल अनुसार कालिका भगवती गुठीलाई संस्थागत र मर्यादितरुपमा नेतृत्व प्रदान गर्ने हिसावले कार्य योजना तथा विस्तृत गुरु योजना तयार गरी कार्यान्वयनमा व्यवस्थापन समिति जुटिसकेको छ ।
विगतदेखि नै यसको नेतृत्व संहाल्दै आउनुहुने पुवार खड्का परिवार तथा व्यवस्थापन समितिका पूर्व अध्यक्षज्यूहरुको नेतृत्वबाट कालिका भगवती गुठीको पहिचान, विकास र संरक्षणका लागि अनुकरणीय कार्यहरु भएका छन् । यद्यपि ति संरचनाहरुको संरक्ष्ँण, मन्दिर परिसर तथा उद्यान परिसरको बहु–आयामिक विकास र पहिचान तथा वर्तमान सन्र्दभमा यसको विकास र विस्तारका संभावनाहरुलाई यथार्थतामा रुपान्तरित गर्ने उद्धेश्यका साथ व्यवस्थापन समितिका अध्यक्ष राजु खडकाको नेतृत्वले मन्दिर तथा समग्र गुठी क्षेत्रको दिगो एवं गुणस्तरीय विकास गरी समयको माग र ऐतिहासिक सम्पदाको प्रभावकारी संरक्षण, प्रवद्र्धन तथा यसको प्रचार प्रसार र गरिमा वढाउने अभिप्रायले पञ्चवर्षीय योजना तयार गरी कार्यँन्वयनको प्रक्रिया अगाडि बढाएको छ । उक्त योजनालाई अन्तिम रुप दिने क्रममा जिल्लामा रहेका राजनैतिक दल, सामाजिक तथा धार्मिक संघ सस्थाका प्रतिनिधिहरु, व्यवस्थापन समितिका पूर्व पदाधिकारी एवं सदस्यहरु, स्थानीय पुवांर खड्का समाज तथा पत्रकारहरुसंग समन्वयात्मक बैठक तथा छलफल गरी राय सुझाव लिइएको थियो ।
लक्ष्य ः– “कालिका भगवती मन्दिर गुठी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पहिचान सहितको धार्मिक तथा पर्यटकीय क्षेत्रको विषेश गन्तव्य क्षेत्रको रुपमा विकास गरिने छ ।”
उद्धेश्यहरु ः यस कालिका भगवती गुठी, बागलुङको पंचबर्षीय
योजनाका निर्दिष्ट उद्धेश्यहरुलाई निम्नानुसार उल्लेख गरिएको छ ।
१) कालिका मन्दिर परिसरलाई धार्मिक गन्तव्य स्थलका साथै पर्यटकीय, सामाजिक तथा वातावरणीय सौन्दर्यका हिसावले विकास गर्दै लगिने छ ।
२) आन्तरिक तथा वाह्रय पर्यटन प्रवद्र्धन गरी मन्दिरको गरिमा वृद्धि गरी मन्दिर परिसरको महत्व र प्रतिष्ठा वढाउन सवारी साधन पार्किङ, उद्यान, भ्यू प्वाइन्ट तथा पिक्निक स्पोर्टलाई व्यवस्थित गरिने छ ।
३) मन्दिरको ऐतिहासिक एवं सांस्कृतिक महत्व र गरिमालाई कायम राख्न मन्दिरको ऐतिहासिक, साँस्कृतिक तथा पुरातात्विक संरचना र सम्पदाहरुको संरक्षण, व्यवस्थापन गर्नुका साथै मन्दिरको धार्मिक, सांस्कृतिक महत्व वढाउन थप रचनात्मक कार्यहरु गरिने छ ।
४) मन्दिर परिसर तथा विद्यमान भौतिक संरचनालाई सफा, स्वच्छ र दुरुस्त पार्नका लागि रंगरोगन गर्ने, वातावरण सरसफाईका विशेष कृयाकलापहरु संचालन गरिने छ ।
५) मन्दिर क्षेत्रमा हुने प्राकृतिक विपत्ति डढेलो, आगलागी, यस क्षेत्रभित्रका रुख विरुवाको फंडानी, चोरी, तस्करी रोक्न साथै मन्दिर परिसरमा प्रवेश गरी यस क्ष्ँेत्र भित्र रहेका श्रोत साधनको हानी नोक्सानी हुनबाट रोक्न विशेष नीति तथा कार्यक्रमहरु
तयार पारी कार्यान्वयन गरिने छ ।
६) मन्दिर परिसर भित्रको वन जंगलको हैसियत कायम राखी राख्नका लागि यस क्ष्ँेत्र भित्रका पुराना, सुकेका, लडेका रुखहरुको उचित व्यवस्थापन गर्ने तथा धार्मिक तथा वातावरणीय रुपमा उपयुक्त हुने खालका रुख विरुवाहरु रोपण गर्ने र त्यसको संरक्षण गर्न विशेष पहल गरिने छ ।
७) यस क्षेत्रमा पाइने जंगली जनावरहरुको संरक्षण गरी पर्यटन प्रर्बद्धन गर्नका लागि मन्दिर क्षेत्रमा रहेको जंगलमा वन्यजन्तु संरक्षण पार्क संचालन गरिने छ ।
८) बागलुङ कालिका गुठीको ऐतिहासिक एवं सांस्कृतिक महत्व
र विशेषताको जानकारी तथा व्यवस्थापनका लागि भए गरेका कार्यहरुलाई लिपिवद्ध गरी त्यसको अभिलेखीकरण गर्ने कार्यलाई महत्वका साथ अगाडि वढाइने छ ।
९) मन्दिर परिसरको दक्षिण, पूर्व र उत्तरपट्टिको क्षेत्रमा तारवार गरी दृष्यावलोकन गर्ने व्यवस्था मिलाइने छ ।
१०) सामाजिक एवं मानवीय हितका लागि कालिका भगवतीको नामांकित एम्बुलेन्स, शव वाहन तथा दमकलको व्यवस्था मिलाइने छ ।
योजना तथा कार्यक्रमहरु
१–कालिका मन्दिरको छानो ब्यवस्थापन, परिसरको स्तरबृद्धि तथा सरसफाइको विषेश व्यवस्था ।
२–मुख्य प्रवेशद्धारदेखि मन्दिरसम्मको बाटो विस्तार, स्तरबृद्धि, आधुनिक लाइट जडान तथा दुवै तर्फ तारवार ।
३–मुख्य प्रबेशद्धार अगाडि सवारी साधन पार्किङ स्थल, चमेना गृह, सभाहल आदिको निर्माण ।
४–जंगल क्षेत्रको सुरक्षा, बृहत बृक्षारोपण तथा दृश्यावलोकनका लागि उचित व्यवस्था, अग्निरेखा, जलकुन्ड आदिको निर्माण ।
५–बन्यजन्तु संरक्षण पार्कको स्थापना ।
६–पिकनिक स्पर्ट, भ्यू प्वाइन्ट, चण्डीकाली मन्दिर, बध स्थल, मन्दिरको भित्री भाग तथा गुठीका चौतारीहरुको स्तर बृद्धि ।
७–फोहोर व्यवस्थापन, शौचालय निर्माण तथा खानेपानीको उचित प्रवन्ध ।
८–मन्दिर परिसर तथा गुठी जग्गाको सीमाना निर्धारण, खोज र अध्ययन ।
९–सत्संग हल तथा संग्रहालय निर्माण ।
१०–व्यवस्थापन समितिको सुविधा सम्पन्न कार्यालय, संचार सामाग्रीहरुको नियमित प्रकाशन, प्रसारण र प्रदर्शनीको व्यवस्था।
११–धार्मिक सम्मेलनको आयोजना तथा चक्र पुवारको सालिक निर्माण ।
१२–स्वास्थ्य शिविर, एम्वुलेन्स, शव–बहान तथा दमकलको व्यवस्था।
१३–परम्परागत मेला पर्वको संरक्षण, संचालन र विषेश कार्यक्रमहरुको आयोजना ।
१४–परेवाको सुरक्षित बासस्थानको व्यवस्था ।
१५–भक्तजनको सरसामानको सुरक्षा व्यवस्था ।
१६–धर्मशाला, जेष्ठ नागरिक उद्यान, पर्यटन सुचना केन्द्र, धार्मिक पुस्तकालय संग्रालय, विद्युतिय शबदाह गृह, भ्यु प्वाइन्ट क्षेत्रमा लिफ्ट जडान तथा क्याफे निर्माण
१७–धार्मिक, सामाजिक, सांस्कृतिक, पर्यटकीय तथा मानविय क्षेत्रमा विविध कार्यहरु


कार्य योजनाको अवधि र लागत
कालिका भगवती गुठीको कार्य योजनालाई विस्तृत गुरु योजना र्तजुमा गरी कार्य संचालन गर्ने मिति लिएको छ । कार्य योजना तथा विस्तृत गुरु योजना कार्यन्वयनमा करिव २ अर्व खर्च हुने अनुमान गरिएको छ ।
मन्दिर परिसरको वर्तमान भौतिक अवस्था, उपलव्ध साधन श्रोत तथा क्षमताको आंकलन, प्राविधिक संभाव्यता, सरोकारवालाको रुचि तथा परामर्श, मन्दिर क्षेत्रको भौगाेिलक तथा प्राकृतिक अवस्थिति आदि समेतलाई मध्यनजर गरी ५ वर्षे कार्ययोजनालाई कार्यान्वयन गर्दै लगिने छ । विभिन्न कालखण्डमा निर्मित कालिका भगवती गुठीका कतिपय भौतिक संरचनाहरुको मर्मत सुधार, स्तरउन्नति, नयां संरचना निर्माण तथा कतिपय पुराना संरचनाको ठाउँमा नयां संरचनाको निर्माण गर्ने गरी यो पञ्चवर्षीय कार्ययोजना तयार पारिएको छ । प्रस्तुत कार्य योजना कार्यान्वयन तथा कालिका भगवती गुठीको विकास र प्रचार प्रसारमा सवैको सहयोगको लागि हार्दिक अनुरोध गरिन्छ।
धन्यवाद, जय कालिका