स्ववियु निर्वाचन अनिश्चित

स्ववियु निर्वाचन अनिश्चित

काठमाडौं माघ २४
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव पूर्वनिर्धाति तालिकाअनुसार नहुने लगभग निश्चित भएको छ ।
त्रिभुवन विश्वविद्यालयले आफ्नो क्यालेन्डरमै फागुन १४ गते स्ववियु चुनावको मिति तय गर्ने गरेको छ । तर त्रिवि र विद्यार्थी सङ्गठनका अहिलेसम्मका गतिविधिले सो समयमा स्ववियु चुनाव नहुने निश्चित भएको छ ।
दुई ठूला दलनिकट विद्यार्थी सङ्गठनभित्रको आन्तरिक किचलोले पूर्वनिर्धारित समयमा सबै आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन चुनाव हुन नसक्ने भएको हो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विद्यार्थी सङ्गठनको एकतामा ढिलाइ हुनु र काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घ पनि विवादमा गाँजिएकाले फागुन १४ मा हुने भनिएको स्ववियु निर्वाचन अनिश्चित बनेको हो ।
त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १३ गते काँग्रेस सभापति शेरबहादुर देउवा, उपकुलपति पदाधिकारी र विद्यार्थी सङ्गठनका नेताहरूलाई बालुवाटार बोलाएर तोकिएकै समयमा स्ववियु चुनावका लागि वातावरण तयार गरेर अघि बढ्नुपर्ने बताएका थिए ।
तर बैठकमा काँग्रेस सभापति शेरबहादुर देउवाले परिस्थिति प्रतिकूल रहेको भन्दै अहिले चुनाव गर्न नसकिने जवाफ दिएका थिए । त्यसयता सत्तापक्ष र प्रतिपक्षका विद्यार्थी सङ्गठनहरू आरोप प्रत्यारोप गरिरहेका छन्
विश्वविद्यालयले चुनावी तालिका सार्वजनिक गर्न नसक्नुको कारण विद्यार्थी सङ्गठनबीचको असहमतिलाई देखाएको छ । यता तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव ऐन महरले त्रिविका कारण निर्धारित समयमा स्ववियु निर्वाचन हुन नसक्ने स्थिति सिर्जना देखिएको बताए ।
उनले भने ‘निर्वाचन गर्ने त्रिविले हो । त्रिविमा स्ववियु निर्वाचनबारे नियम र विधि बनेको छ । त्यो विधि कार्यान्वयन गर्ने काम त्रिविको हो । त्रिविले स्ववियु निवार्चनका लागि कसैलाई सोधिराख्ने छलफल गर्नुपर्ने आवश्यकता नै थिएन । त्यसले बढी गिजोलेर स्ववियु निर्वाचन विथोल्ने काम गर्यो ।
स्ववियुको विधिमा नै प्रत्येक दुई वर्षमा निवार्चन हुनुपर्ने उल्लेख गरिएको भन्दै महासचिव महरले त्रिविले समयमा कार्यतालिका प्रकाशन नगर्दा पूर्वनिर्धारित समयमा चुनाव हुने अवस्था टरेको बताए । उनले त्रिवि नेविसङ्घको इसारामा चलेको आरोपसमेत लगाए ।
त्रिविकी रेक्टर सुधा त्रिपाठी पहिले पनि वार्ता र सहमतिका आधारमा मात्रै निर्वाचन हुने गरेको बताउँछिन् । उनले प्रधानमन्त्रीदेखि सबै विद्यार्थी सङ्गठनबीच वार्ता र छलफल गरेर नै निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने गरेको भन्दै अहिल्यै निर्वाचन विथोलियो भन्न नमिल्ने तर्क बताइन् । ‘विद्यार्थी सङ्गठनसँगको छलफलबिनै चुनाव गर्नुपर्ने भन्ने कुरा हावादारी हो’, उनले भनिन् ।
‘फागुन १४ गतेलाई स्ववियु निर्वाचन गर्ने भनेर पहिलेदेखि नै तोकिएको हो । त्यो क्रममा एउटा कमिटी बन्नुपर्छ । त्यो कमिटी उपकुलपति (भीसी)ले बनाउनु भएको छैन हामीले योजना बनाइराखेका छौँ । कोसँग भेट्ने कसरी अगाडि बढ्ने भनेर भीसीज्यूले कमिटी प्रक्रिया अघि बढ्दैन । त्यसअघि केही गर्ने सक्ने अवस्था पनि छैन’, रेक्टर त्रिपाठीको भनाइ छ । भीसीले रेक्टर त्रिपाठीको नेतृत्वमा कमिटी बनाउनु पर्नेहुन्छ, जसमा उनीलगायत त्रिविका विभिन्न पदाधिकारी रहने व्यवस्था छ ।
उनले स्ववियु चुनाव हुनेमा आफू विश्वस्त रहेको भन्दै आफूहरूले पूर्णरूपमा लागिपरेको बताइन् । ‘फागुन १४ को साटो केही दिन पर सर्नसक्छ । तर चुनाव हुन्छ । यो फागुनमा हुन नसके अर्को वर्ष मात्र गर्नुपर्ने हुन्छ । त्यसैले फागुनको दुई, तीन दिन बाँकी छँदै निर्वाचन गराउनुपर्छ, जसका लागि म प्रत्यनशील पनि छु । फागुन पछि त म नेतृत्व लिन पनि सक्दिन’ उनले भनिन् ।
नेविसङ्घका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचन समयमा हुन नसक्ने स्थिति आउनुमा भीसीले नभई रेक्टर रहेको बताउँछन् । भीसी तीर्थ खनियाँ काँग्रेस निकट हुन भने रेक्टर त्रिपाठी नेकपा निकट मानिन्छन् ।